Saturday, August 15, 2026
Homeराजनीतिराप्रपाको समानुपातिक सूचीप्रति वरिष्ठ उपाध्यक्ष राजभण्डारीको कडा असन्तुष्टि

राप्रपाको समानुपातिक सूचीप्रति वरिष्ठ उपाध्यक्ष राजभण्डारीको कडा असन्तुष्टि

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक उम्मेदवार सूचीप्रति कडा असन्तुष्टि जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले समानुपातिक उम्मेदवार चयनमा मनपरी भएको आरोप लगाउँदै यसले पार्टीको नीति, विचार र सिद्धान्तप्रति प्रतिबद्ध रहेर लामो समयदेखि सक्रिय कार्यकर्ताहरूको भावना आहत भएको बताएका छन् ।

विज्ञप्तिमा उनले पार्टीभित्र सबैको योगदानको मूल्याङ्कन हुनुपर्ने उल्लेख गरेका छन् । देशभर पार्टीका लागि पसिना बगाएका कार्यकर्ताको सम्मान हुनुपर्ने, सबै वर्ग, क्षेत्र र लिङ्गको समुचित प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ । पार्टी सबैको साझा संस्था र आस्थाको धरोहर भएकाले स्वेच्छाचारी निर्णय स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन् ।

राजभण्डारीले पार्टीप्रतिको आफ्नो योगदानलाई बेवास्ता गरिएको गुनासो समेत गरेका छन् । आफ्नो योगदान बालुवामा पानी खन्याए सरह भएको महसुस भएको उल्लेख गर्दै उनले यसले आगामी दिनमा पार्टीभित्र निर्वाह गर्ने भूमिकाबारे पुनर्विचार गर्न बाध्य बनाएको बताएका छन् ।

उनका अनुसार उनले पार्टीलाई करोडौँ मूल्य बराबरको भवन प्रदान गर्नुका साथै अघिल्लो निर्वाचनमा दिएको ५० लाख रुपैयाँमध्ये ३५ लाख रुपैयाँ अझै फिर्ता नपाएको दाबी गरेका छन् । नेतृत्वको पक्षपातपूर्ण र कृतघ्न व्यवहारको निन्दा गर्दै उनले भविष्यमा पार्टीमा आफ्नो भूमिका के रहने भन्ने विषयमा गम्भीर पुनर्विचार गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका