काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ। सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा समितिको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयमा विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ।
बैठकमा अघिल्ला बैठकबाट भएका निर्णयहरूको कार्यान्वयन प्रगतिको समीक्षा गरिनुका साथै समितिको कामलाई व्यवस्थित बनाउन तीनवटा उपसमिति गठन गर्ने विषयमा छलफल गरिने कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार बैठकले बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा प्राप्त उजुरीहरूको अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्रभित्र रहेका मन्त्रालय र निकायहरूको कामकारबाही अध्ययन तथा निगरानी उपसमिति गठनबारे निर्णय गर्न सक्नेछ।
यस्तै, समितिको कार्यक्षेत्रअन्तर्गत पर्ने विभिन्न सरकारी निकायहरूको स्थलगत अनुगमन र निरीक्षणलाई प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल हुने जनाइएको छ।


