काठमाडौँ: राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंहलाई प्रहरीले पक्राउ गरेपछि राजावादी समूहले सोमबार उपत्यका बन्दको घोषणा गरेको छ। संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ कि शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका नेता र कार्यकर्तालाई प्रहरीले अमानवीय तरिकाले पक्राउ गरेको छ।
समितिले सरकारसँग तत्काल पक्राउ परेका नेता र कार्यकर्तालाई रिहा गर्न जोडदार माग गरेको छ। विज्ञप्तिमा थप भनिएको छ: “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ। यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ। उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी सहयोद्धाहरूलाई आह्वान गर्दछु।”
यसअघि, राप्रपा नेपालका अध्यक्ष कमल थापा र सांसद दिपक सिंहलाई राजधानीको नारायण चौर क्षेत्रबाट प्रदर्शन गर्दै बालुवाटारतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले पक्राउ गरेको थियो।


