काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई शनिबार बिहान यति एयरलाइन्सको पहिलो उडानमार्फत भैरहवा लगिदैछ।
शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई राति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राखिएको थियो। अहिले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याइएको छ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरका अनुसार लामिछानेलाई भैरहवा ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिनेछ। अदालत खुलेपछि उनलाई जिल्ला कारागार, भैरहवा पठाइनेछ।
आज र भोलि सार्वजनिक बिदा परेकाले सोमबारसम्म लामिछाने जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहनेछन्।
शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सो आदेश दिएको हो।


