इनरुवा । सुनसरीसहित मिथिला क्षेत्रमा गणेश चतुर्थी अर्थात् चोठचन्द्र (चौरचन) पर्व श्रद्धा, निष्ठा र हर्षोल्लासका साथ मनाइएको छ। मिथिला संस्कृतिमा विशेष महत्त्व राख्ने यस पर्वमा चन्द्रमाको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरिएको छ।
भाद्र शुक्ल पक्षको चतुर्थी तिथिमा मनाइने चोठचन्द्र पर्वका अवसरमा मैथिल समुदायले घरको आँगन तथा छतलाई लिपपोत गरी अरिपान (चपिँड) बनाएका थिए। त्यसपछि विभिन्न परिकार, फलफूल तथा चकमरो (माटोको भाँडो) मा राखिएको विशेष दही चन्द्रमालाई अर्पण गरिएको थियो।
पर्वमा विशेषगरी पेडा, पुरी, फलफूल तथा नैवेद्यलगायतका परिकार चन्द्रमालाई चढाउने र राति चन्द्र दर्शन गर्ने परम्परा रहेको छ।
धार्मिक मान्यताअनुसार यस दिन चन्द्रमाको दर्शन गर्नाले समाजमा लाग्ने झूटा कलंक वा लाञ्छनाबाट मुक्ति पाइने तथा पारिवारिक कल्याण हुने विश्वास गरिन्छ।
सुनसरीका इनरुवा, इटहरी, दुहबी र धरानलगायत विभिन्न स्थानमा बसोबास गर्ने मैथिल समुदायले परिवारसहित पर्व मनाएका छन्। पर्वका अवसरमा घरका महिलाहरू दिनभर उपवास बसेर साँझ विधिपूर्वक पूजा आराधना गरेका थिए।


