कोरोनाको दोस्रो लहरले सिङ्गो देश प्रभावित भइरहेको समयमा प्रदेश २ सरकार भने विकास निर्माणको कार्यमा व्यस्त छ । जनता आपत् विपत्मा रहेका बेला प्रदेश २ का मन्त्रीहरु भने विकास निर्माणको बजेट सक्ने चटारोमा जुटेका हुन् ।
कोरोना महामारी फैलिरहेको बेला यसलाई नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि आवश्यक सामग्री जोहो गर्नेतर्फ वास्ता नगरी विभागीय मन्त्रीहरु भने निरीक्षण र शिलान्यासमा व्यस्त छन् ।
प्रदेश २ मा कोरोना संक्रमितको संख्या दिनहुँ करिब २ सयसम्म थपिँदैछ । एकातर्फ प्रदेशका अस्पतालहरुमा आइसियू, अक्सिजन र भेन्टिलेटरको अभाव छ, जसका कारण कयौं संक्रमितको उपचार अभावमा मृत्यु भइरहेको छ । तर मन्त्रीहरु भने विकास निर्माणको कार्यलाई तीव्रता दिँदै निरीक्षण र शिलान्यासमा व्यस्त छन् ।
सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय अहिले सप्तरीको कंकालिनी नगरपालिकामा निर्माण भईरहेको विभिन्न मन्दिर तथा पर्यटकीय स्थलहरुको निरीक्षणमा व्यस्त छन् । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल कल्याणपुर नगरपालिका वडा नम्बर १ स्थित भोक्राहामा शिव मन्दिर निर्माण शिलान्यासमा व्यस्त छन् ।
सामाजिक विकास मन्त्री नवलकिशोर साहका स्वकीय सचिव राजकुमारले सामाजिक विकास मन्त्री साह एवं उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय तथा उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले शिलान्यास र अनुगमन तथा निरीक्षण गरेका फोटो सामाजिक सञ्जालमा राखेपछि सर्वत्र आलोचना भईरहेको छ ।
जनता कोरोनाको चपेटामा परिरहेको अवस्थालाई ख्याल नै नगरी यस्तो समयमा पनि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले स्वीकृत वार्षिक कार्यक्रम अनुसार धार्मिक संघसंस्था, मठमन्दिर, किर्तनमण्डली, नाट्यकला समूह, गायन मण्डली, नृत्य समूहहरूलाई हार्मोनियम, मादल, झ्याली समेतका सामग्रीहरु वस्तुगत सहयोग गर्न लाभग्राही छनोट सम्बन्धी सूचना प्रकाशन गरेको थियो । महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित रानी कुमारी शर्मा तिवारीले समेत प्रदेश सरकारको १५ लाख रुपैयाँ बजेट ल्याएर जलेश्वर नगरपालिका वडा नम्बर १ स्थित पगलाबाबा धर्मशालाको मर्मत सम्भारको नाममा चरम अनियमितता गरिरहेको स्थानीयको भनाइ छ ।
यता सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले अहिले कुनै पनि किसिमको विकास निर्माणको कार्यलाई अगाडि नबढाई कोरोना महामारीको रोकथाम तथा नियन्त्रणतर्फ प्रदेश सरकारले ध्यान केन्द्रित गरेको जिकिर गरे । केही मन्त्रीले कोरोना महामारीलाई बेवास्ता गर्दै विकास निर्माणलाई तीव्रता दिएको बारे आफुलाई जानकारी नभएको उनले बताए । रातोपाटीबाट