महेन्द्रनगर (धनुषा): मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको विकास निर्माणको गति अपेक्षाकृत सुस्त भए पनि निराशाजनक नरहेको बताएका छन्।
मधेस प्रदेशको चौथो अधिवेशनमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री सिंहले ६४ निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक र प्रत्येक क्षेत्रमा एक पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको जानकारी दिए। यसले सरकारको खर्च प्रक्रिया तीव्र हुने उनको विश्वास छ।
बैठकमा विभिन्न दलका नेताहरूले विकास निर्माणमा सरकारको गति कमजोर रहेको गुनासो राखेपछि मुख्यमन्त्री सिंहले जवाफमा भने, “खुला बोलपत्र प्रक्रियाका कारण कामको गति सुस्त देखिएको हो। तर, काम अघि बढिरहेको छ।”
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले गठबन्धनको सरकार भएकाले कांग्रेसले अवरोध नगरेको स्पष्ट पारे। “काम गर्न नदिएको आरोप निराधार छ,” यादवले भने।
पूर्वमुख्यमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता लालबाबु राउतले भने वर्तमान सरकारको सुस्तताले संघीयता माथि नै प्रश्न खडा गर्न सक्ने चेतावनी दिए।
नेकपा (एमाले)का प्रदेशसभा सदस्य शारदादेवी थापाले पनि विकास निर्माणमा भएको ढिलाइप्रति असन्तोष व्यक्त गर्दै, “यस्तो सुस्तीले पछि गएर पछुताउनु बाहेक केही फाइदा हुने छैन,” भन्दै गति बढाउन सुझाव दिइन्।
सभामुख रामचन्द्र मण्डलका अनुसार प्रदेशसभाको अर्को बैठक भोलि बुधबार बस्नेछ।