Tuesday, May 20, 2025
Homeअन्तराष्ट्रियभारत र पाकिस्तानबीच युद्धविराम

भारत र पाकिस्तानबीच युद्धविराम

काठमाडौं: भारत र पाकिस्तान सैन्य कारबाही रोक्न सहमत भएका छन्। दुवै देशका विदेश मन्त्रीहरूले युद्धविरामका लागि सहमति भएको पुष्टि गरेका छन्।

भारतीय विदेश सचिव विक्रम मिश्रीका अनुसार पाकिस्तानका सैन्य अपरेसन महानिर्देशकले भारतीय समकक्षीसँग सम्पर्क गरी स्थल, समुद्र र हवाई क्षेत्रमा भारतीय समयअनुसार साँझ ५ः०० बजेदेखि लागू हुने गरी सबै सैन्य कारबाही रोक्ने सहमति भएको हो।

उनले भने, “युद्धविराम कार्यान्वयन गर्न दुवै पक्षलाई निर्देशन दिइसकिएको छ।” साथै, मे १२ को मध्यान्ह १२ बजे डाइरेक्टर जनरल अफ मिलिटरी अपरेसन (डीजीएमओ) स्तरको अर्को चरणको वार्ता तय भएको छ।

विदेशमन्त्री मिश्रीले थप स्पष्ट पारे, “पाकिस्तान र भारतका डीजीएमओबीच आज अपराह्न फोनवार्ता भएको हो। दुबै देश जमिन, आकाश र समुद्र क्षेत्रमा सबै प्रकारका गोलाबारी तथा सैन्य कारबाही रोक्न सहमत भएका छन्।”

त्यसैगरी, पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पनि युद्धविरामको पुष्टि गर्दै भने, “पाकिस्तानले आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता नगरी यस क्षेत्रको शान्ति र सुरक्षाका लागि सधैं प्रयत्नरत रहँदै आएको छ।”

यसअघि शनिबार आयोजित एक प्रेस ब्रिफिङमा विदेश सचिव मिश्रीले पाकिस्तानको कारबाहीलाई ‘उत्तेजक’ प्रकृतिको भएको टिप्पणी गरेका थिए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि दुवै देश युद्धविराम गर्न र तटस्थ स्थलमा वार्ता सुरु गर्न सहमत भएको जनाएका छन्।

उनले भने, “बितेका ४८ घण्टामा उपराष्ट्रपति भान्स र मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ, भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकर, पाकिस्तानी सेनाप्रमुख असिम मुनीर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र असिम मलिकलगायत दुबै देशका वरिष्ठ अधिकारीहरूसँग विस्तृत संवाद गरेका छौं।”

रुबियोले थपे, “भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएका छन् र तटस्थ स्थलमा व्यापक विषयमा वार्ता सुरु गर्नेछन्। हामी प्रधानमन्त्री मोदी र सरिफलाई शान्तिको बाटो रोजेकोमा धन्यवाद ज्ञापन गर्छौं।”

यसअघि, मे २ मा पहलगाममा भएको आतंककारी हमलाको प्रतिकारस्वरूप भारतले मे ७ मा ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको थियो। उक्त कारबाहीमा २६ जनाको मृत्यु भएको थियो। जवाफी कारबाहीमा पाकिस्तानले पनि आक्रमण गर्दा भारतीय सुरक्षाकर्मी र सर्वसाधारण घाइते तथा मृतक भएका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका