Tuesday, May 20, 2025
Homeअन्तराष्ट्रियभारत-पाकिस्तानको आ-आफ्नै दाबी: लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आ-आफ्नै दाबी: लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

काठमाडौं । भारत र पाकिस्तानबीचको तनाव पछिल्लो समय झनै चर्किएको छ। भारतको रक्षा मन्त्रालयले बुधबार राति पाकिस्तानले ड्रोन र मिसाइल प्रयोग गरेर भारतका विभिन्न सैन्य अड्डाहरूमा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ। अर्कोतर्फ, पाकिस्तानले भारतमाथि यस्तै प्रकारको आरोप लगाउँदै २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ।

दुवै देशका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकिएको छैन।

भारतको रक्षा मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ कि पाकिस्तानले अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, बठिंडा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुज लगायतका उत्तरी तथा पश्चिमी भारतका सैन्य प्रतिष्ठानहरूलाई लक्ष्यित गर्दै ड्रोन आक्रमणको प्रयास गरेको थियो। मन्त्रालयका अनुसार, यी प्रयासहरू ‘एकीकृत काउन्टर यूएएस ग्रिड’ र वायु रक्षा प्रणालीद्वारा निष्क्रिय पारिएका छन्।

मन्त्रालयले विभिन्न स्थानहरूबाट पाकिस्तानी ड्रोनका भग्नावशेष बरामद भएको र यसले आक्रमण पाकिस्तानबाट भएको प्रमाणित गर्ने जनाएको छ। साथै, भारतले पनि पाकिस्तानलाई ‘उस्तै तीव्रताका साथ’ जवाफ दिएको दाबी गरिएको छ। मन्त्रालयले बिहीबार बिहान भारतीय सशस्त्र सेनाले पाकिस्तानका विभिन्न स्थानमा रहेका वायु रक्षा राडार तथा प्रणालीहरूलाई निशाना बनाएको दाबी गर्दै लाहोरमा रहेको एक वायु रक्षा प्रणाली नष्ट गरिएको उल्लेख गरेको छ।

भारतले मे ७ मा आयोजित पत्रकार सम्मेलनमा ‘अपरेशन सिन्दूर’को सन्दर्भमा भनेको थियो कि आक्रमणका लक्ष्य सैन्य प्रतिष्ठानहरू थिएनन्। तर, भारतीय सैन्य संरचनामाथि कुनै पनि आक्रमण भएमा त्यसको उचित जवाफ दिइने चेतावनी पनि दिएको थियो।

रक्षा मन्त्रालयले पाकिस्तानले जम्मु–कश्मीरका कुपवाडा, बारामुल्ला, उरी, पुंछ, मेन्धर र राजौरी सेक्टरहरूमा नियन्त्रण रेखामा मोर्टार र तोपखाना प्रयोग गरेर ‘बिना उक्साहट’ गोलीबारी गरेको आरोप लगाएको छ। मन्त्रालयका अनुसार, पाकिस्तानी आक्रमणमा तीन महिला र पाँच बालबालिकासहित १६ निर्दोष नागरिकको ज्यान गएको छ।

यता, पाकिस्तानले पनि भारतीय आक्रमणको आरोप लगाउँदै २५ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ। पाकिस्तानका अनुसार, ती ड्रोनहरू लाहोर, गुजरनवाला, चकवाल, अटक, रावलपिंडी, मियाँवाली र कराँचीमा खसालिएका हुन्।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले पत्रकार सम्मेलनमा भने, “भारतले मे ७ को रातदेखि ड्रोनको सहयोगमा घुसपैठ गर्ने प्रयास गरिरहेको छ।” उनले सेनाको कारबाही अझै जारी रहेको जानकारी दिए। भारतले भने यी आरोपहरूमाथि औपचारिक प्रतिक्रिया दिएको छैन।

बीबीसीले दुवै देशका दाबीहरूलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका