काठमाडौं। काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ।
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई गम्भीर अवस्थामा उद्धार गरी वीर अस्पताल लगिएको थियो। अस्पतालका अनुसार उनको शरीरको करिब ५५ प्रतिशत भाग जलेको थियो। उपचारमा संलग्न डाक्टर पियुष दाहालका अनुसार उपचारकै क्रममा उनको निधन भएको हो।
मृतकका भाइ दीपक राउतका अनुसार बिहान करिब ६ बजे परिवारमा श्राद्धको तयारी भइरहेको बेला श्रीमती नुहाउन गएको समयमा अश्विनले घरबाहिर पार्किङ गरिएको स्कुटरबाट पेट्रोल निकालेर शरीरमा खन्याई आगो लगाएका थिए।
आगो लागेको थाहा पाएपछि श्रीमती, छिमेकी तथा नजिकैको होस्टेलमा बस्ने युवाहरूले तत्काल आगो निभाई उनलाई उद्धार गरी अस्पताल पुर्याएका थिए।
पारिवारिक स्रोतका अनुसार अश्विनको एक वर्षअघि स्पाइनल कर्डको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि उनी केही समयदेखि मानसिक तनावमा रहेको र थप उपचारको तयारी भइरहेको परिवारले जनाएको छ।
यसैबीच, घटनालाई पारिवारिक विवाद वा राजनीतिक विषयसँग जोडेर तथ्य पुष्टि नगरी केही सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै मृतकका परिवारले आपत्ति जनाएको छ। वास्तविक तथ्य नबुझी अनुमानका आधारमा प्रकाशित समाचारले शोकमा रहेका परिवारलाई थप मानसिक पीडा पुगेको उल्लेख गर्दै परिवारले जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको आग्रह गरेको छ।


