महेन्द्रनगर (धनुषा): नेपाल—नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा बारम्बार अवरोध सृजना गर्नु जनताको मतको अपमान भएको टिप्पणी गर्नुभएको छ।
धनुषाको धनुषाधाममा आयोजित दिवङ्गत नेता ठाकुरप्रसाद ढुङ्गानाको स्मृति दिवस, सालिक अनावरण, तथा पुस्तक विमोचन कार्यक्रममा बोल्दै उहाँले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकार संविधानसम्मत रूपमा गठन भएको र यो सरकार २०८४ सालसम्म टिक्ने दाबी गर्नुभयो।
सभापति देउवाले सरकारलाई कमजोर बनाउने प्रयास अनुचित भएको बताउँदै गठबन्धनले स्थायीत्वको दिशामा अघि बढिरहेको उल्लेख गर्नुभयो। हालै प्रतिनिधिसभामा देखिएको अवरोधप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले भन्नुभयो, “गठबन्धन सरकार संविधानअनुसार नै बनेको हो।”
आर्थिक वर्ष २०८२/८३ को बजेटबारे उहाँले टिप्पणी गर्दै सरकारले प्रस्तुत गरेको बजेट सन्तुलित, समावेशी, र उत्पादनमुखी भएको र समग्र आर्थिक विकासमा यसले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। “बजेटले विकास, रोजगारी, र समावेशी योजनालाई प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो।


