ढोरपाटन (बागलुङ)– बागलुङ जिल्लाका १० स्थानीय तहका विभिन्न खानेपानी मुहानमा गरिएको परीक्षणमा १०६ वटा मुहानमा कोलिफर्म जीवाणु फेला परेको छ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका लगायत जिल्लाका २८५ स्थानमा कोलिफर्म परीक्षण गरेको थियो। परीक्षणका क्रममा सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा कोलिफर्म भेटिएको प्रयोगशाला प्राविधिक डिल्ली आचार्यले जानकारी दिनुभयो।
उहाँका अनुसार, काठेखोलामा परीक्षण गरिएका ४७ वटा मुहानमध्ये २७ वटामा तथा जैमिनी नगरपालिकामा परीक्षण गरिएका १०६ मध्ये ४४ वटामा कोलिफर्म भेटिएको छ। उहाँले परीक्षणको दायरा विस्तार गरिए अझ धेरै मुहानमा कोलिफर्म पत्ता लाग्न सक्ने बताउनुभयो।
यसै क्रममा, जनस्वास्थ्य कार्यालयले निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बागलुङ नगरपालिकाका खानेपानी मुहानमा पनि परीक्षण गरिरहेको छ। परीक्षणलाई क्रमशः सबै स्थानीय तहमा विस्तार गरिने जनाइएको छ।
प्राविधिक आचार्यका अनुसार, “कोलिफर्मयुक्त पानी पिउनका लागि उपयुक्त हुँदैन। यस्तो पानी पिउँदा झाडापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपाटाइटिस बीलगायतका पानीजन्य रोग लाग्न सक्छन्। यसैले जनस्वास्थ्य कार्यालयले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।”
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले नगरपालिकाले ‘वास प्लान’ तयार गरेको र त्यसअनुसार मुहानको सरसफाइ तथा संरक्षणमा काम गरिरहेको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “कोलिफर्म नियन्त्रणका लागि नगरपालिका आफ्नो प्रयास जारी राख्नेछ। अन्य निकायहरूबाट प्राविधिक सहयोग लिएर आमनागरिकलाई पानी शुद्धीकरण गरेर मात्र प्रयोग गर्न प्रेरित गरिनेछ। धेरै मुहानमा कोलिफर्म भेटिएकाले हामी गम्भीर रूपमा यसको व्यवस्थापनमा लागेका छौँ।”


