काठमाडौं: बलिउड अभिनेता सैफ अली खान हाल मुम्बईको लीलावती अस्पतालमा भर्ना छन्। उनलाई धारिलो हतियार प्रहार गरिएको छ। घटना बान्द्रास्थित उनको घरमा राति करिब २:३० बजे भएको हो। अज्ञात व्यक्तिले चोरीको नियतले घरमा प्रवेश गर्दा सैफसँग झडप भएको थियो।
झडपका क्रममा आक्रमणकारीले सैफलाई धारिलो हतियारले बारम्बार प्रहार गरेका थिए। अस्पताल स्रोतका अनुसार सैफको शरीरमा छ ठाउँमा छुरा प्रहार भएको छ, जसमा घाँटी र स्पाइनल कर्डमा गम्भीर चोट लागेको छ। शल्यक्रिया गरेर उनको शरीरबाट दुईदेखि तीन इन्च लामो धारिलो वस्तु निकालिएको छ। चिकित्सकहरूको टोलीले अहिले उनको न्यूरो र कस्मेटिक सर्जरी गरिरहेको छ।
घटनामा सैफको घरका एक सहयोगी पनि सामान्य घाइते भएका छन्। प्रारम्भिक अनुसन्धानमा चोरहरू घरमुनि रहेको नालीबाट भित्र पसेको आशंका गरिएको छ।
लीलावती अस्पतालका प्रमुख डा. नीरज उत्तमानीले मध्यरातमा सैफमाथि छ पटक छुरा प्रहार गरिएको जानकारी दिएका छन्। न्यूरोसर्जन डा.नितिन डांगे र कस्मेटिक सर्जन डा. लीना जैनको नेतृत्वमा चिकित्सकहरूको टोलीले उनको उपचार गरिरहेको छ।
स्रोतका अनुसार घटना सैफका छोराहरू तैमुर र जेहको कोठाको आसपासमा भएको हो। प्रहरी घटनाको विस्तृत छानबिन गर्दैछ।
सैफको पीआर टिमका अनुसार राति २:३० बजे बाल हेरचाह सहयोगीले घरभित्र आवाज सुनेर सैफलाई सतर्क गराएकी थिइन्। सैफले आक्रमणकारीलाई समात्ने प्रयास गर्दा झडप भएको र उनी घाइते भएको जनाइएको छ। झडपपछि आक्रमणकारीहरू भागेका थिए।
सैफकी पत्नी करीना कपुरको टोलीले विज्ञप्ति जारी गर्दै घरमा लुट्ने प्रयास भएको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ, “सैफ घाइते भएर अस्पतालमा उपचार गराइरहेका छन्। बाँकी परिवार सुरक्षित छन्। मिडिया र फ्यानहरूलाई अफवाहमा विश्वास नगर्न र धैर्य गर्न आग्रह छ। अनुसन्धान जारी छ।”