महोत्तरी: बर्दिबास–१० खयरमारा मुसहरीटोलकी ६५ वर्षीया दुलारी सदा मुसहरले मोतियाविन्दु शल्यक्रियापछि उत्साहित हुँदै भनिन्, “फेउर स जिनगीमे इजोत आयल (फेरि जीवनमा उज्यालो फक्र्यो)।” दुलारीले पछिल्ला १० वर्षदेखि आँखा टालिएको समस्याबाट मुक्ति पाएपछि आफ्नो खुसी व्यक्त गरिन्।
उहाँको देब्रे आँखाको शल्यक्रिया सम्पन्न भएको र केही समयपछि दाहिने आँखाको पनि शल्यक्रिया गरिनुपर्ने चिकित्सकको सुझाव रहेको छ। “अब पट्टी हटेपछि कालो चश्मा लगाउन पाउने रे,” उहाँले खुसी हुँदै बताउनुभयो।
दुलारीजस्तै ७० वर्षीय रामचन्दर सदा पनि आँखाको ज्योति फर्कने आशामा दङ्ग हुनुहुन्छ। उहाँले भने, “गरिबले यस्तो अवसर पाउनु भगवान भेटेजत्तिकै हो। हामीलाई यो सुविधा दिनुभएकोलाई भगवान्ले हेरुन्।”
विपन्न समुदायलाई निःशुल्क उपचार
मधेसमा स्वास्थ्य, शिक्षा र आर्थिक अवसरबाट पछाडि परेको अति सीमान्तकृत मुसहर समुदायका दुलारी र रामचन्दरजस्ता विपन्न व्यक्तिहरूको आँखाको समस्या समाधान गर्न बर्दिबास आँखा अस्पतालको पहलमा इम्प्रुभिङ्ग लाइभ्स इन नेपाल संस्थाले आर्थिक सहयोग जुटाएको हो।
शिविरमा सोमबार र मंगलबार गरी १०० जनाको मोतियाविन्दुको शल्यक्रिया सम्पन्न भएको थियो। अस्पतालका समन्वयकर्ता मकुन्दप्रसाद पौडेलका अनुसार यो शिविरले अत्यन्त गरिब वस्तीका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया गर्न सहयोग गरेको छ।
शिविरको सफल समापन
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अर्जुन श्रेष्ठको नेतृत्वमा सात सदस्यीय चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो। १०० बिरामीमध्ये ५५ पुरुष र ४५ महिला थिए। अधिकांश बिरामीको दोस्रो आँखाको पनि शल्यक्रिया गरिनुपर्ने सुझाव चिकित्सकले दिएका छन्।
बर्दिबास मुख्यचोकबाट ४० किलोमिटर दूरीमा रहेको खयरमारा र वरपरका चुरेकाछका बस्तीहरूका विपन्न समुदायका सदस्यहरूले यो सुविधा पाएका थिए।
बर्दिबास–१० की जानकी यादवले भनिन्, “हामी नगरकै भए पनि बिरामी पर्दा ४० किलोमिटर छिचोलेर बर्दिबास चोक पुग्नुपर्छ। धन्न डाक्टरबाबुले हाम्रो सम्झना गरेछन्।”
शिविरका लागि वस्ती चयन, आँखा जाँच र शल्यक्रिया गरी तीन चरणमा कार्यक्रम सञ्चालन गरिएको थियो। पाँच लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको संस्थाले विपन्न समुदायको ज्योति फिर्ता ल्याउन महत्वपूर्ण योगदान पुर्याएको समन्वयकर्ता पौडेलले जानकारी दिनुभयो।