Thursday, June 25, 2026
Homeखेलकुदफिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामा असर पर्ने

फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलको अन्तर्राष्ट्रिय सहभागितामा असर पर्ने

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको जनाएको छ। फिफा काउन्सिलको ब्युरोले फिफा विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै एन्फामाथि निलम्बनको निर्णय गरेको हो।

फिफाले जारी गरेको विज्ञप्तिअनुसार एन्फाको कामकारबाहीमा तेस्रो पक्षको हस्तक्षेप भएको पाइएको छ। यसले फिफा विधानको धारा १४ को उपधारा १ तथा उपधारा ३ को उल्लंघन गरेको निष्कर्ष निकालिएको जनाइएको छ।

फिफाले फुटबल संघको स्वतन्त्रता र स्वायत्ततामाथि बाह्य हस्तक्षेप भएको भन्दै त्यसलाई विधानविपरीतको कार्यका रूपमा व्याख्या गरेको छ। फिफा नियमअनुसार सदस्य राष्ट्रका फुटबल संघहरूले आफ्नो प्रशासनिक तथा प्राविधिक काम स्वतन्त्र रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था छ।

निलम्बनको निर्णयसँगै एन्फा तथा यसअन्तर्गतका राष्ट्रिय टोली र क्लबहरूको फिफा तथा एशियाली फुटबल महासंघ (एएफसी) अन्तर्गतका अन्तर्राष्ट्रिय प्रतियोगिता र गतिविधिमा सहभागिता प्रभावित हुन सक्ने देखिएको छ। साथै, फिफाबाट प्राप्त हुने प्राविधिक सहयोग, विकास कार्यक्रम तथा आर्थिक अनुदानसमेत प्रभावित हुन सक्ने जनाइएको छ।

फिफाले निलम्बन फुकुवा गर्न आवश्यक सुधार र मापदण्ड पूरा गर्नुपर्ने स्पष्ट गरेको छ। एन्फाले संघको स्वतन्त्रता सुनिश्चित गर्दै तेस्रो पक्षको हस्तक्षेप अन्त्य गरेको पुष्टि भएपछि मात्र निलम्बनको पुनरावलोकन गरिने बताइएको छ।

फिफाको यो निर्णयले नेपाली फुटबलको अन्तर्राष्ट्रिय छवि, विकास कार्यक्रम र प्रतिस्पर्धात्मक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका