Saturday, April 18, 2026
Homeदेश र प्रदेशफागुन २६ गतेदेखि लेखनाथ महोत्सव हुने

फागुन २६ गतेदेखि लेखनाथ महोत्सव हुने

१७ औं लेखनाथ महोत्सव फागुनमै हुने भएको छ । कोभिड संक्रमण केही कम भएपछि यसअघि स्थगित महोत्सव फागुनकै अन्तिम सातादेखि सन्चालन गर्न लागिएको हो । यसअघि माघमा महोत्सव चलाउने तयारी थियो । तर, कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थगित भएको हो ।

२६ फागुनदेखि ७ चैतसम्म महोत्सव गर्ने गरी मिति तय गरिएको उद्योग बाणिज्य संघले जनाएको छ । सुन्तला मेलाबाट सुरू भएको महोत्सव अहिले गण्डकीकै ठूलोमध्येको महोत्सवका रुपमा विकास भएको छ । ‘पहिले कोभिडले रोकियो । अब समय केही अनुकूल भएको छ,’ संघका अध्यक्ष छत्रधर आत्रेयले भने, ‘महोत्सव सन्चालन गर्न लागेका छौं ।’

महोत्सवमा करिब ३०० स्टल रहनेछ भने दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवबाट मात्र १० करोडको आर्थिक कारोबार गर्ने संघको अनुमान छ । आर्थिक कारोबारमार्फत कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान हुने आत्रेय बताउँछन् ।

महोत्सवका लागि आठ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय महोत्सव सल्लाहकार समिति, १९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । बचत रकम प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, बेगनासताल परिसरमा डिस्प्ले बोर्ड निर्माण गर्ने काममा खर्च हुने बताइएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका