नेपाली नेपाली नेता गगन थापाले नेपालमा पछिल्लो समय कोरोना भाइरस तीव्र रूपमा बढिरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।
नेता थापाले सोमवार एक भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसबारे सरकारको ध्यानाकर्षण गराएका हुन् । अहिले सरकारको प्राथमिकताको एक, दुई, तीन नम्बरमै कोभिड हुनुपर्ने नेता थापाको भनाइ छ । ‘प्रधानमन्त्रीज्यू अहिले पनि कोभिड तपाईंको प्राथमिकतामा परेको छैन । हुन त भन्न सकिएला– अहिले धमाधम निर्णय भएका छन् ।
अब कतिपय ठाउँमा निषेधाज्ञा होला, लकडाउन होला, सरकारले काम गरिरहेको छ । निर्णय गरेर मात्रै हुन्थ्यो भने धेरै पहिला भइसक्थ्यो । हामीलाई चाहिएको निर्णय होइन, नेतृत्व हो । तपाईंको आजको दिनमा प्राथमिकताको एक नम्बर, दुई नम्बर, तीन नम्बर सबै कुरा कोभिडभन्दा अरू हुनु हुँदैन ।’
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले कोरोना संक्रमणको अवस्थामा के गर्न सकिन्छ, सरकारसँग मिलेर दलहरूले के गर्न सक्थे भन्नेबारे संसद्मा छलफल गर्न सकिने भए तापनि सरकारले बिजनेस नभएको भन्दै संसद् स्थगित गरेको उनको गुनासो छन् ।