Wednesday, June 3, 2026
Homeराजनीति‘प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा वार्ताको ढोका खोल्यो’ : अर्थमन्त्री वाग्ले

‘प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा वार्ताको ढोका खोल्यो’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको संसदमा आएको पछिल्लो अभिव्यक्तिपछि नेपाल–भारत सीमा विवादसम्बन्धी संवाद र वार्ताको वातावरण पुनः बनेको बताएका छन्।

राष्ट्रिय सभाका दलका नेताहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालले नयाँ नक्सा जारी गरेपछि सीमा सम्बन्धी वार्ता प्रभावकारी रूपमा अघि बढ्न नसकेको भए पनि प्रधानमन्त्रीको अभिव्यक्तिले संवादको ढोका खोलेको बताएका हुन्।

स्रोतका अनुसार वाग्लेले बैठकमा भने, “सीमा विवादसम्बन्धी वार्ताको ढोका बन्दजस्तै भएको थियो, अहिले संवादको वातावरण बनेको छ। प्रधानमन्त्रीले सकारात्मक सन्देश दिन खोज्नुभएको हो।”

राष्ट्रिय सभा अवरुद्ध भइरहेका बेला वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई अघि बढाउने विषयमा छलफल गर्न अर्थमन्त्रीले दलका नेताहरूसँग परामर्श गरेका थिए। उक्त विधेयकमा राष्ट्रिय सभाले प्रतिनिधि सभामा तोकिएको समयभित्र सुझाव पठाउनुपर्ने व्यवस्था छ।

छलफलका क्रममा केही नेताहरूले प्रधानमन्त्रीले संसदमा आएर सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग गरेका थिए। त्यसको जवाफमा अर्थमन्त्री वाग्लेले परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक अडान भएको बताएका थिए।

दलका नेताहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने अडान कायम राखेपछि छलफल निष्कर्षविहीन बनेको स्रोतको भनाइ छ।

यसैबीच, वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई अर्थ विधेयकको श्रेणीमा राखिएकाले राष्ट्रिय सभाले यसमा सुझाव दिने अधिकार मात्रै राख्ने भएको छ। संविधानअनुसार अर्थ विधेयक प्रतिनिधि सभाबाट अघि बढ्ने व्यवस्था रहेकाले तोकिएको समयभित्र प्रक्रिया पूरा नभए राष्ट्रिय सभाको सुझावबिनै विधेयक प्रमाणीकरणका लागि अगाडि बढ्न सक्ने अवस्था देखिएको छ।

बुधबार राष्ट्रिय सभाको बैठकमा केही सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमा आएर जवाफ दिनुपर्ने मागसमेत गरेका थिए।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका