काठमाडौं: मदन आश्रित स्मृति प्रतिष्ठानका अध्यक्ष स्वर्गीय प्रदीप नेपालको पार्थिव शरीर दाहसंस्कारका लागि पशुपति लगिएको छ। पशुपतिस्थित विद्युतीय शवदाहगृहमा आज उनको अन्त्येष्टि गरिनेछ।
अन्त्येष्टिभन्दा अघि उपप्रधानमन्त्री एवं सहकारी तथा गरिबी निवारण मन्त्री प्रकाशमान सिंहले स्व. नेपालप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा पुगेर उनले श्रद्धाञ्जली अर्पण गरेका हुन्। नेता नेपालको निधन आजै उक्त अस्पतालमा उपचारका क्रममा भएको हो।
वि.सं. २०५० को दशकमा नेपालको कम्युनिस्ट आन्दोलनमा एक सशक्त र वरिष्ठ नेताका रूपमा उदाएका नेपाल नेकपा (एमाले) भित्र निर्णायक र प्रभावशाली व्यक्ति थिए।
राजनीतिक परिवर्तनका क्रममा उनले लामो समय भूमिगत राजनीतिमा सक्रिय भूमिका खेलेका थिए। साहित्यिक क्षेत्रमा भने उनी ‘सञ्जय थापा’ नामले परिचित थिए। उनी आख्यानकार, कवि र उपन्यासकारसमेत थिए।
उनले सूचना तथा सञ्चार, शिक्षा, जलस्रोतलगायत विभिन्न मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका थिए। एमाले सचिवालय सदस्य, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुखका रूपमा काम गरेका नेता नेपालले पार्टी सुदृढीकरण र संगठन विस्तारमा अतुलनीय योगदान पुर्याएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन्।