काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मर्मविपरीत अभिव्यक्ति तथा गतिविधि नगर्न पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी दिएका छन्।
मंगलबार पार्टीको बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देउवाको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। कांग्रेसका पूर्वसभापति देउवाले आइतबार इतर समूहको भेलामा आफू हिन्दु भएको बताएका थिए। उक्त भेलाले हिन्दु धर्मको पक्षमा निर्णयसमेत गरेको थियो।
देउवाको अभिव्यक्ति र भेलाको निर्णयप्रति लक्षित गर्दै प्रचण्डले संविधानभन्दा बाहिर जाने गतिविधिले देशलाई दुर्घटनातर्फ लैजान सक्ने बताएका थिए। पार्टी नेता हिमाल शर्माका अनुसार प्रचण्डले देउवालाई आफैँले निर्माण गरेको संविधानविपरीत निर्णय तथा अभिव्यक्ति नदिन आग्रह गरेका छन्।
यसैगरी, प्रचण्डले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार संविधान, लोकतन्त्र र गणतान्त्रिक व्यवस्थाविपरीत अघि बढेको आरोप लगाएका छन्। उनले सरकारका गतिविधिविरुद्ध सडक आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन्।
सरकार बनेपछि बेथिति र भ्रष्टाचार बढेको तथा सञ्चारमाध्यममाथि दबाब सिर्जना गरी आवाज दबाउने प्रयास भइरहेको आरोप लगाउँदै प्रचण्डले त्यसविरुद्ध आफूहरू छिट्टै आन्दोलनको आह्वान गर्ने बताएका छन्।
एमालेसँग भएको तीनबुँदे सहमतिले वामपन्थी शक्तिबीच सहकार्यको सम्भावना बढाए पनि तत्काल पार्टी एकता भने सम्भव नरहेको प्रचण्डले स्पष्ट पारे। एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रवृत्तिमा परिवर्तन नआएसम्म एकता हुन नसक्ने उनको भनाइ थियो। दीर्घकालीन रूपमा भने वामपन्थी एकताको पक्षमा आफूहरू रहेको उनले बताए।
बैठकमा नेकपाका सहसंयोजक माधवकुमार नेपालले देश गम्भीर मोडमा पुगेको भन्दै लोकतान्त्रिक–गणतन्त्र पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने बताए। उनले एमालेसँग भएको तीनबुँदे सहमतिका आधारमा तत्काल पार्टी एकता हुने भ्रममा नपर्न आग्रह गरे।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमालेसहितको बृहत् वामपन्थी एकताका लागि नेकपाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। उनले वामपन्थी शक्तिबीच सहकार्य, एकता र ध्रुवीकरणका लागि सकारात्मक पहल गर्न सबै पक्षलाई आग्रह गरे।
बैठकमा बागमती प्रदेश संयोजक सरलसहयात्री पौडेलले पार्टी संगठनको अवस्थाबारे रिपोर्ट प्रस्तुत गरेका थिए। विभिन्न वामपन्थी घटकबीचको एकतापछि संगठन भद्दा र भद्रगोल बनेको उल्लेख गर्दै उनले आगामी अधिवेशनबाट सानो, चुस्त र प्रभावकारी संगठन निर्माण गर्नुपर्ने सुझाव दिएका थिए।


