बैतडी, ५ भदौ । जिल्लामा डेङ्गी सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालका अनुसार हालसम्म सात जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्ये दशरथचन्द नगरपालिकामा तीन, पुचौडीमा दुई, मेलौली र पाटन नगरपालिकामा एक–एक जना छन् । यसैका आधारमा स्वास्थ्य कार्यालयले सदरमुकाम र पाटन बजार क्षेत्रमा अभियान सञ्चालन गरेको छ ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकका अनुसार वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोकथामलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज र स्थानीयवासीको सहभागितामा बुधबार अभियान सञ्चालन गरिएको हो ।
यसैबीच, जिल्लाका स्थानीय तहहरूले पनि डेङ्गी नियन्त्रणमा सक्रियता बढाएका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ । तीन महिना लामो अभियानमा विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयलाई सक्रिय सहभागिताका लागि अनुरोध गरिएको गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिनुभयो ।


