Saturday, January 18, 2025
Homeस्वास्थ्य र जीवनशैलीपचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

पचास शय्याको अस्पताल भवन : थपिएको म्याद सकियो, निर्माण सकिएन

खोटाङ: तोकिएको समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेपछि थपिएको म्यादभित्र पनि जिल्ला अस्पताल खोटाङको भवन निर्माणमा ठेकेदार कम्पनी असफल भएको छ। श्याम सुन्दर/रामसागर/नेपाल फूलबारी जेभीले ५० शय्याको सुविधासम्पन्न भवन तोकिएको म्यादभित्र निर्माण गर्न नसकेको हो।

२०७८ असार २४ गते ठेक्का सम्झौता गरी ३० महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। तर, २०८० पुस २४ मा म्याद सकिएपछि थप ११ महिनाको म्याद दिइएको थियो, जुन गत मंसिर २९ मा समाप्त भयो।

सरकारको १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्ने नीतिअनुसार भवन निर्माण सुरु गरिएको थियो। भवन निर्माणको भौतिक पूर्वाधार लगभग पूरा भए पनि झ्यालढोका जडान, रंगरोगन र विभाजनजस्ता काम अझै बाँकी छ।

जिल्ला अस्पतालका डा. पुष्कल राईका अनुसार, ठेकेदार कम्पनीको लापरबाहीले भवन निर्माणमा ढिलासुस्ती हुँदा अस्पतालको सेवा प्रभावित भइरहेको छ। “अस्पतालमा दैनिक सय’ौं बिरामी आउँछन्, कतिपयलाई भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था छ,” उहाँले भन्नुभयो। “भवन अभावले गर्दा बिरामीलाई अस्थायी टहरामा राखेर उपचार गर्न बाध्य छौं। यसतर्फ सम्बन्धित निकायको ध्यान आवश्यक छ।”

अस्पतालमा बिरामी भर्ना कक्ष, डेलिभरी कक्ष, शल्यक्रिया कक्ष र आकस्मिक कक्षजस्ता सेवा टहरामै उपलब्ध गराइँदैछ। तर, शय्या अभावले गर्दा बिरामीहरूलाई नजिकको होटल वा आफन्तको घरबाट धाएर उपचार गर्नुपर्ने अवस्था रहेको छ।

ठेकेदारको लापरबाही

ठेकेदारको ढिलासुस्ती रोक्न जिल्ला समन्वय समितिले गत साउन २७ मा सर्वपक्षीय बैठक बोलाएको थियो। सो बैठकमा निर्माण कम्पनीका सञ्चालक रामबहादुर कटवालले मंसिर २९ भित्र सबै काम सम्पन्न गर्ने लिखित प्रतिवद्धता जनाए पनि ‘वर्क सेड्युल’ कागजमै सीमित भएको छ।

२०४९ सालमा स्थापना भएको १५ शय्याको अस्पताललाई सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत २२ करोड ९० लाख ४७ हजार ९२ रूपैयाँ लागतमा स्तरोन्नति गर्न ठेक्का लगाइएको थियो। ठेकेदार कम्पनीका साइड इन्जिनियर हरिशंकर बान्तोलका अनुसार, कामको नियमित भुक्तानी नपाउँदा निर्माण कार्य ढिलो भएको हो।

भवनको प्राविधिक विवरण

४० मिटर लम्बाइ र २०.५ मिटर चौडाइ रहेको भवन चारतले आरसिसी संरचना हुनेछ। पहिलो तलामा ओपीडी कक्ष, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, एक्स–रे कक्ष, फार्मेसी र सुरक्षा कक्ष रहनेछ। दोस्रो तलामा प्रसुतिसम्बन्धी सेवा, तेस्रो तलामा आइसियू, आइसोलेसन कक्ष र क्याबिन तथा चौथो तलामा प्रशासन, लेखा र सेमिनार हल रहने योजना छ।

जिल्लावासीको गुनासो

भवन निर्माणको ढिलाइले सामान्य बिरामीलाई पनि बाहिरी जिल्लामा लैजानुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन्। भवन र औजारको अभावका कारण धेरैजसो बिरामीलाई सुविधासम्पन्न अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरूको भनाइ छ।

अस्पताल सञ्चालक समितिका अनुसार, विभिन्न क्षेत्रबाट प्राप्त औजारको भरमा सेवा उपलब्ध गराइएको छ। विशेषगरी, खोटाङका हङ्कङ र बेलायतमा बस्ने व्यक्तिहरूले अस्पतालका लागि औजार उपलब्ध गराउँदै आएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका