काठमाडौं । नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौं–ढाका सिधा उडान सुरु गर्ने तयारी थालेको छ। निगमले यसका लागि सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालका अनुसार छिमेकी देश बंगलादेशको राजधानी ढाकामा राष्ट्रिय ध्वजावाहकबाट हालसम्म उडान हुन नसकेको अवस्थामा अब त्यसलाई प्राथमिकतामा राखेर काम भइरहेको छ।
हाल बंगलादेशबाट काठमाडौंमा नियमित उडान भइरहेको छ भने नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान गर्दै आएको छ। तर, नेपाल वायु सेवा निगमको सिधा उडान भने सुरु हुन सकेको छैन। अध्ययन समितिको प्रतिवेदनका आधारमा उडानको अन्तिम निर्णय गरिने जनाइएको छ।
यसैबीच, निगमले काठमाडौं–दिल्ली–काठमाडौं रुटमा उडान संख्या विस्तार गरेको छ। गत चैत १७ गतेदेखि सातामा थप तीन उडान थपिएसँगै अब उक्त रुटमा साप्ताहिक १० उडान सञ्चालनमा आएका छन्।
कार्गो सेवातर्फ पनि सुधार गर्न निगमले कार्गो म्यानेजमेन्ट सिस्टम अध्ययनका लागि टास्कफोर्स गठन गरेको जनाएको छ।


