काठमाडौं । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा ६५ वटा विद्यालयका ५ सय ८५ विद्यार्थीहरूले बनाएका पेन्टिङ तथा हस्तकला कृतिहरू प्रदर्शनीमा राखिएका छन्।
उपत्यकाका ६५ विद्यालयका विद्यार्थीले बनाएका कोलाज आर्ट, पेन्टिङ, टोट ब्याग (नेपाली उत्पादन) पेन्टिङ तथा विभिन्न हस्तकला सामग्री प्रदर्शनीसँगै बिक्रीका लागि पनि राखिएका छन्।
विद्यार्थीहरूमा रहेको कला तथा हस्तकला क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले पिडिलाइट इन्डस्ट्रिज लिमिटेड नेपालले ‘फेबिक्रिल आर्ट ओलम्पियाड एक्जिबिसन २०२६’ आयोजना गरेको हो। पहिलो चरणमा उपत्यकाका ६५ विद्यालयका करिब १० हजार विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो।
कक्षा ३ देखि ९ सम्म अध्ययनरत ती विद्यार्थीहरूमध्ये छनोट भएका ५ सय ८५ वटा पेन्टिङ तथा हस्तकला कृतिहरू प्रदर्शनीमा राखिएका छन्।
पिडिलाइट इन्डस्ट्रिज लिमिटेड नेपालका कला तथा स्टेशनरी विभागका बिजनेस डेभलपमेन्ट एक्जिक्युटिभ सुनिल यादवका अनुसार विद्यार्थीहरूले आफ्नो रुचि स्वतन्त्र रूपमा अभिव्यक्त गर्न र उनीहरूभित्र लुकेको प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
उनले विद्यालयका विद्यार्थीहरूमा कला तथा हस्तकलाप्रति आकर्षण बढाउनुका साथै उनीहरूको सिर्जनात्मक क्षमता विकास गर्ने लक्ष्यका साथ प्रदर्शनी गरिएको बताए।
मंगलबारदेखि सुरु भएको प्रदर्शनी शनिबारसम्म चल्नेछ। आयोजक पिडिलाइट इन्डस्ट्रिज लिमिटेड नेपालले विद्यालयका लागि आवश्यक कला तथा स्टेशनरी सामग्री उत्पादन गर्दै आएको छ।


