नेपालगञ्ज, ३० साउन। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका बसपार्क क्षेत्रमा लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामबहादुर घर्तीका अनुसार, सूचनाको आधारमा सुरुमा दुई जनालाई नियन्त्रणमा लिँदा थप दुई जनाले प्रहरीमाथि ढुङ्गामुढा गर्दै भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली चलाएको हो। गोली लागेर भारतको बहराइज रूपैडियाका २० वर्षीय कात्तिक कुमार घाइते भएका छन्। उनको दायाँ खुट्टामा चोट लागेको छ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज–५ का २२ वर्षीय अमन साह, २६ वर्षीय भाइजन अन्सारी, भारतका २० वर्षीय अजयकुमार र कात्तिक कुमार रहेका छन्। ढुङ्गामुढामा एक जना प्रहरीसमेत घाइते भएका छन्, जसको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले पक्राउ परेकासँग लागुऔषध पनि बरामद गरेको जनाएको छ।


