कञ्चनपुर । भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसकेको छ, तर अपराधी अझै पहिचानमा आउन सकेका छैनन्।
विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव भोलिपल्ट साउन ११ गते घरनजिकैको उखुबारीमा फेला परेको थियो। घटनापछि देशव्यापी विरोध प्रदर्शन र न्यायका लागि आवाज उठेका थिए। सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन गरिए पनि निष्कर्ष अझैसम्म अपुरो छ।
राष्ट्रिय मानवअधिकार आयोगदेखि प्रहरीसम्मले छुट्टाछुट्टै रूपमा अनुसन्धान अघि बढाए। जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार, “निर्मला प्रकरणलाई अहिले पनि प्राथमिकतामा राखेर अनुसन्धान भइरहेको छ। अहिलेसम्म एक सय २४ जनाको डिएनए परीक्षण भइसकेको छ भने छ सय ५५ जनासँग सोधपुछ गरिएको छ।” उनका अनुसार, सिआइबीका १० टोलीले अनुसन्धान गरिसकेका छन् र अझै पनि प्रक्रिया जारी छ।
घटना भएको एक महिनापछि, २०७५ भदौ ४ गते, प्रहरीले भीमदत्त–१९ बागफाटाका दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। तर, विष्ट मानसिक रोगी भएको र उनलाई बलपूर्वक दोषी बनाउने प्रयास भएको भन्दै आन्दोलन चर्किएको थियो। अन्ततः उनी सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए।
प्रहरीको सबैभन्दा बढी स्रोतसाधन खपत भएको यो घटनामा अझै ठोस निष्कर्ष ननिस्किँदा पीडित परिवार र सर्वसाधारण निराश छन्।


