काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालनमा आएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा सुरु गरिएको यस सेवामार्फत बिरामीले सहुलियत दरमा गुणस्तरीय औषधि अस्पतालबाटै प्राप्त गर्न सक्नेछन्।
नेपाल सरकारको २०८२ चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत सरकारी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यक्रमअनुसार नारायणी अस्पतालमा यो सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुलभ फार्मेसीमार्फत उपचारका लागि आउने बिरामीले आवश्यक औषधि बजार मूल्यभन्दा सस्तो दरमा सहज रूपमा प्राप्त गर्नेछन्। यसबाट उपचार खर्च कम हुनुका साथै गुणस्तरीय औषधिमा सर्वसाधारणको पहुँच विस्तार हुने विश्वास गरिएको छ।
यसैबीच, नारायणी अस्पतालमा क्याथ ल्याब (Cath Lab) मेसिन जडानको काम पनि सुरु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले शासकीय सुधार कार्यक्रमअन्तर्गत देशभरका सरकारी अस्पतालमा चरणबद्ध रूपमा सुलभ फार्मेसी सञ्चालन तथा विस्तार गर्ने कार्यलाई निरन्तर अघि बढाइने जनाएको छ।


