काठमाडौं । सरकारले शिक्षा नियमावलीको दशौं संशोधनमार्फत विद्यालयमा विद्यार्थीमाथि हुने अपमानजनक तथा शारीरिक, मानसिक र मनोसामाजिक असर पार्ने गतिविधिमा रोक लगाएको छ।
बिहीबार मन्त्रिपरिषद्बाट पारित नियमावलीअनुसार कुनै पनि विद्यालयले विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक वा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र सञ्चालन गर्न वा गराउन पाउने छैन।
नियमावलीले शुल्क नतिरेको जस्ता कारण देखाएर विद्यार्थीलाई अपमानित गर्नसमेत निषेध गरेको छ। साथै सार्वजनिक रूपमा लाञ्छित गर्ने, भेदभावपूर्ण व्यवहार गर्ने, कक्षा वा परीक्षामा सहभागी हुनबाट वञ्चित गर्ने, जबर्जस्ती कपाल काट्ने वा कटाउन लगाउने तथा विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार (मेकअप) वा साजसज्जाका आधारमा होच्याउने कार्य गर्न नपाइने व्यवस्था गरिएको छ।
यस्तै, लामो समयसम्म घाम वा अन्य प्रतिकूल अवस्थामा उभ्याएर दण्ड दिने तथा विद्यार्थीको आत्मसम्मान, मर्यादा, शारीरिक र मानसिक स्वास्थ्य वा मनोसामाजिक अवस्थामाथि प्रतिकूल असर पर्ने कुनै पनि व्यवहार गर्न नपाइने नियमावलीमा उल्लेख छ।
यसैबीच, संशोधित नियमावलीले शिक्षक सरुवाका लागि पनि नयाँ व्यवस्था गरेको छ। अब शिक्षकको सरुवा शैक्षिक योग्यता लगायतका आधारमा निर्धारण हुने निश्चित अङ्क प्रणालीअनुसार गरिनेछ। सामान्यतया तीन वर्षमा शिक्षक सरुवा गर्ने व्यवस्था कायम राखिएको छ।


