Sunday, April 26, 2026
Homeअन्तराष्ट्रियदिल्लीका धेरै विद्यालयमा फेरि बमको धम्की

दिल्लीका धेरै विद्यालयमा फेरि बमको धम्की

काठमाडौं: भारतको राजधानी दिल्लीका कम्तीमा छ विद्यालयमा बम विस्फोटको धम्की दिइएको छ। समाचार एजेन्सी एएनआईका अनुसार यी विद्यालयहरूलाई इमेलमार्फत धम्की दिइएको हो। धम्कीपूर्ण इमेलहरू प्राप्त भएपछि सम्बन्धित विद्यालयहरू तत्काल बन्द गरिएको छ।

सुरुमा चार विद्यालयमा धम्की आएको बताइए पनि पछिल्लो विवरणअनुसार यो संख्या छ पुगेको छ। विद्यालयहरूमा आपतकालीन अवस्थाको घोषणा गरी विद्यार्थी र शिक्षकहरूको सुरक्षा सुनिश्चित गर्न सबै गतिविधि रोकिएको छ।

धम्कीका कारण विद्यालय बन्द भएपछि फर्किएका एक अभिभावकले सञ्चारकर्मीसँग कुरा गर्दै भने, “विद्यालयबाट म्यासेज आएको थियो, तर हामीले ढिलो देख्यौं। ‘असामान्य अवस्था’का कारण आज विद्यालय बन्द रहने सूचना दिइएको थियो। केही दिनअघि पनि यस्तै गरी विद्यालय बन्द गरिएको थियो, तर त्यसबेला पनि ठोस कारण खुलाइएको थिएन।”

दिल्लीको श्रीनिवासपुरीस्थित क्याम्ब्रिज स्कुलकी प्रिन्सिपल माधवी गोस्वामीले बिहान ६ बजे नै बमको धम्कीसम्बन्धी इमेल प्राप्त भएको र तुरुन्तै प्रहरीलाई जानकारी गराएको बताइन्।

यो पहिलो घटना भने होइन। यसअघि, गत ९ डिसेम्बरमा पनि दिल्लीका केही विद्यालयमा यस्तै प्रकारको बम विस्फोटको धम्की दिइएको थियो। दिल्ली प्रहरीका दक्षिण पश्चिम डीसीपी सुरेन्द्र चौधरीले त्यस समय ४० भन्दा बढी विद्यालयमा धम्कीको सूचना आएको बताएका थिए।

यो घटनापछि दिल्ली प्रहरीले सम्बन्धित विद्यालयहरूको परिसरमा कडा सुरक्षा व्यवस्था गरेको छ। बम डिस्पोजल स्क्वाड, खोजी कुकुर, र अन्य सुरक्षा टोलीहरूले विद्यालयहरूलाई सुरक्षित बनाउन अभियान चलाइरहेका छन्। यस्ता घटनाले अभिभावक र विद्यार्थीहरूबीच त्रास उत्पन्न गराए पनि प्रहरीले सतर्कता अपनाउँदै थप घटनाहरू रोक्न प्रयासरत रहेको जानकारी दिएको छ।

दिल्ली प्रहरीका अनुसार यसप्रकारको इमेल धम्कीहरूको स्रोत पत्ता लगाउन साइबर सेलले अनुसन्धान जारी राखेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका