कीर्तिपुर (काठमाडौं): सरकारको लक्ष्यअनुसार आगामी वैशाख २४ भित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र फ्लड लाइट जडानको कामलाई तीव्र गति दिन थालिएको छ। तीनवटै पालोमा निर्माण कार्य अघि बढाइएको छ।
बिहीबार राति ९ बजे प्रधानमन्त्रीको सचिवालयका जनसम्पर्क सल्लाहकार किरण पौडेल, निजी सचिव विनोद कुँवरसहितको टोलीले निर्माण कार्यको अनुगमन गरेको थियो।
भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठका अनुसार चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तर्राष्ट्रियस्तरका दुईतले प्यारापिट निर्माणको काम अघि बढिरहेको छ। हाल जग खन्ने काम भइरहेको छ।
रंगशालाका छ स्थानमा फ्लड लाइट जडानका लागि जमिनमुनि पाइल बनाउने काम भइरहेको छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न दिनमा १०० र राति ६० जना मजदुर खटिएका छन्।
हालसम्म करिब ३५ प्रतिशत जमिनमा १० हजार दर्शक क्षमताको संरचना निर्माण भइरहेको छ। सबै काम सम्पन्न भएपछि रंगशालाले ५० हजार दर्शक अटाउन सक्ने लक्ष्य राखिएको छ। अनुगमन टोलीले विकास निर्माणलाई थप तीव्रता दिन निर्देशन दिएको छ।


