काठमाडौं । तेस्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री–बाइ–थ्री बास्केटबल प्रतियोगितामा किस्क र एलाइट बास्केटबल एकेडेमीले उपाधि कब्जा गरेका छन्। किस्कले सिनियर र जुनियर दुवै ब्वाइज समूहमा दोहोरो उपाधि जित्दा, एसइइ समूहमा एलाइट च्याम्पियन बन्यो।
ढोलाहिटीस्थित आयोजक ओएसिस इङ्ग्लिस स्कुलको कोर्टमा सम्पन्न सिनियर ब्वाइज शीर्षक भिडन्तमा किस्कले रेडियन्ट पब्लिकलाई १७–१० ले हरायो। किस्कका ब्रुक्स जेन्सेनले उत्कृष्ट प्रदर्शन गर्दै ८ अंक जोडे।
जुनियर ब्वाइज फाइनलमा पनि किस्कले प्रभावशाली खेल देखाउँदै ज्ञानोदयलाई ८–६ ले पराजित गर्यो। यस समूहमा किस्कका जय महर्जन ७ स्कोरसहित निर्णायक बने।
एसइइतर्फ एलाइटले घरेलु टोली ओएसिसलाई १९–१५ ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्यो। विजयी टिमका प्रदिन बोहराले ८ अंक योगदान दिए। एसइइ समूहका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गरे।
एसइइमा एलाइटका प्रदिन ‘मोस्ट भेलुएबल प्लेयर’ (MVP) घोषित भए भने ओएसिसका जेसन राना मगर सर्वाधिक स्कोरकर्ता बने। दुवैले जनही ३ हजार रुपैयाँ पुरस्कार पाए। एसइइबाहेक अन्य दुई विधामा भने नगद पुरस्कार राखिएको थिएन।
सिनियर ब्वाइजमा किस्कका ब्रुक्स तथा जुनियर ब्वाइजमा किस्ककै जय ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। सिनियर ब्वाइजमा रेडियन्टका सुसनराज न्यौपाने र जुनियर ब्वाइजमा ज्ञानोदयका युनिश स्याङ्तान सर्वाधिक स्कोरकर्तामा अग्रस्थानमा रहे।
विजयी टोलीहरूलाई ओएसिसकी संस्थापक जानुका लिम्बू, कार्यकारी निर्देशक मिनकुमार लिम्बू, प्रिन्सिपल निलम भट्टराई तथा राष्ट्रिय पुरुष बास्केटबल टोलीका खेलाडी एवं ओएसिसका प्रशिक्षक विनोद महर्जनले पुरस्कार वितरण गरे।
दुईदिने प्रतियोगितामा सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइइ समूहमा ९ टिम सहभागी थिए।


