काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ठूला राजनीतिक दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिने हो भने अहिले देशभर देखिएका आन्दोलनहरू रोकिने बताएका छन्।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले लोकतन्त्रमा एउटै जिम्मेवारीमा लामो समयसम्म एउटै अनुहार दोहोरिरहँदा जनताले अस्वीकार गर्न थालेको बताए। उनले ठूला दलका नेताहरूले समयमै राजनीतिबाट विश्राम लिए नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने अवसर पाउने र आन्दोलनको कारणहरूमध्ये एक हट्ने धारणा राखे।
भ्रष्टाचारलगायतका विकृतिहरूप्रति जनताले उठाएका प्रश्नहरूलाई नेतृत्व तहले गम्भीर रूपमा लिनुपर्नेमा उनले जोड दिए। राजनीतिक दलहरूले आफूलाई फरक बनाउँदै मात्रै विकृत गठबन्धन संस्कारबाट बाहिर निस्कन सक्ने थापाको भनाइ थियो।
संवैधानिक राजसंस्था सम्भव छैन
कार्यक्रममा थापाले नेपालको राजसंस्था राजतन्त्रवादी भएकाले संवैधानिक राजसंस्था सम्भव नरहेको दाबी गरे। राप्रपाले संवैधानिक राजतन्त्रको भ्रम सिर्जना गरेर जनतालाई झुक्याउने काम गरिरहेको आरोप लगाउँदै उनले भने, “राजतन्त्र फर्काएर रोजगारीलगायत देशको समस्या समाधान हुने सोच भ्रम मात्र हो।”
थापाले मुलुकमा देखिएका संरचनात्मक समस्याको समाधान जनताको सशक्त सहभागिता, जवाफदेही नेतृत्व र लोकतान्त्रिक सुधारमार्फत मात्र सम्भव हुने धारणा व्यक्त गरे।


