ललितपुर (गोदावरी): जनता समाजवादी पार्टी (जसपा), नेपाल निकट संघीय कानुन व्यवसायी संघ (एफएलए) को केन्द्रीय कार्यसमिति पुनर्गठन गरिएको छ। पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित भेलाले वरिष्ठ अधिवक्ता वीरेन्द्रकुमार ठाकुरको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा अधिवक्ता दीपनारायण यादव, भगवती सुवेदी र किरणकुमारी साह चयन भएका छन् भने महासचिवमा प्रिती रमण र सचिवमा साया खड्का चयन भएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवका स्वकीय सचिव महेश चौरसियाका अनुसार सदस्यहरूमा विमला विश्वकर्मा, उमाशङ्कर देव, अस्मिता थापा, रसना यादव, रामचन्द्र महतो, मोहम्मद समिम, सुरेन्द्र कुर्मी र घनश्याम शर्मा चयन भएका छन्। वरिष्ठ अधिवक्ता मिथिलेशकुमार सिंहलाई केन्द्रीय सल्लाहकारका रूपमा चयन गरिएको छ।
भेलाले आगामी चैत २३ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा अन्य कानुन व्यवसायी संघहरूसँग समन्वय गरी उम्मेदवारी दिने निर्णय गरेको छ। यसका लागि मिथिलेशकुमार सिंह, विमला विश्वकर्मा, आशा राई र वीरेन्द्रकुमार ठाकुरलाई जिम्मेवारी दिइएको छ। यसअघि संघको अध्यक्ष रहेका अधिवक्ता दीपक राई अन्य पार्टी निकट संगठनमा आबद्ध भएकाले साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्कासन गरिएको छ।
यसैगरी, जसपाले समाजवादी खेलकुद महासंघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ। युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख बिन्देश्वर यादव ‘विक्की’ को अध्यक्षतामा बसेको बैठकले श्याम शिल्पकारको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो।
महासंघको उपाध्यक्षमा दिनेश महतो, महासचिवमा राजेश गुप्ता र सचिवमा दीपेन्द्र गोइत चयन भएका छन्। साथै, सदस्यहरूमा सन्तोष दास, जितेन्द्र यादव, रवीन्द्र श्रेष्ठ, कृति साह, विक्रम पौडेल, सनोजराज वैद्य, मृगेन्द्रविक्रम साह, अनिल यादव, धर्मदेव साह, रोमा राई, कर्मा महर्जन र दीपेन्द्रकुमार यादव चयन भएका छन्।


