काठमाडौँ: प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४० वर्षभन्दा कम उमेरका कम्तीमा ४० प्रतिशत महिलालाई सङ्गठित गर्न अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को नेतृत्वलाई आग्रह गरेका छन्।
अनेमसङ्घको केन्द्रीय कमिटीको पूर्ण बैठकमा आज सम्बोधन गर्दै अध्यक्ष ओलीले ४० वर्षमुनिका ४० प्रतिशत र ३० वर्षमुनिका कम्तीमा ३० प्रतिशत महिलालाई सदस्य बनाएर देशव्यापी अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन्।
उनले महिलावादका नाममा जुनसुकै विचारधाराका व्यक्तिलाई समर्थन जनाउने सोच गलत भएको भन्दै सङ्घलाई निष्ठावान्, क्षमतावान् र सक्रिय संगठनका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे।
सामाजिक सञ्जालमा पनि पार्टीका विपक्षमा नभई पक्षमा सक्रिय भूमिका खेल्न सुझाव दिँदै अध्यक्ष ओलीले नेपालले दुई कार्यकालसम्म महिला राष्ट्रपति पाएको र सबै तहमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेर कतिपय विकसित मुलुकभन्दा अघि बढ्न सफल भएको स्पष्ट पारे।
‘मिसन २०८४’ अभियानमा जुट्न आह्वान गर्दै उनले एमालेलाई एकल बहुमतको पार्टीका रूपमा स्थापित गरी मुलुकको विकास, सुशासन र समृद्धितर्फको यात्रालाई थप सशक्त बनाउनुपर्नेमा जोड दिए।


