Monday, January 13, 2025
Homeअन्तराष्ट्रियचट्याङ लागेर भारतको असममा १८ वटा जंगली हात्ती मरे

चट्याङ लागेर भारतको असममा १८ वटा जंगली हात्ती मरे

काठमाडौँ — भारतको उत्तरपूर्वी राज्य असममा चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेका छन् । असमको नगाउँमा चट्याङ लागेर मरेका १८ हात्ती एकै ठाउँमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार बुधबार कुन्डोली प्रस्तावित आरक्षित वनको कठियाटोलीमा चट्याङ लागेर हात्ती मरेका हुन् । ‘स्थानीय अधिकारीका अनुसार १८ वटा हात्ती मरेका छन् । प्रारम्भिक जानकारीअनुसार चट्याङ लागेर हात्ती मरेका हुन्,’ असमा वरिष्ठ वन अधिकारी एम के यादवले हिन्दुसँगको कुराकानीमा भनेका छन् । उनले मृत्युको अन्य कारण भए पोस्टमार्टमपछि मात्रै थाहा हुने बताए ।

असमका मुख्यमन्त्री हिमन्त विस्वाले ठूलो संख्यामा हात्ती मरेको खबरले आफू चिन्तित भएको भन्दै घटनाको अनुसन्धान गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । त्यस्तै राज्यका वनमन्त्री परिमल शुक्लावैद्यले चट्याङ लागेर १८ वटा जंगली हात्ती मरेकोमा चिन्ता व्यक्त गर्दै मुख्यमन्त्रीको निर्देशनअनुसार घटनाको अनुसन्धान हुने बताएका छन् ।

भारतमा २७ हजारभन्दा बढी एसियाली हात्ती रहेका छन् जसको २१ प्रतिशत हिस्सा असममा मात्रै छ । २० वर्षमा पहिलो पटक असममा एकैपटक यति धेरै संख्यामा हात्ती मरेका हुन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका