मोरङ: युवकको हत्या गरेको अभियोगमा बुधबार उर्लाबारीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-५ बस्ने सुभाष तामाङ रहेका छन् ।
तामाङले गत मंगलबार उर्लाबारी नगरपालिका-४ आइतबारे घर भएका २१ वर्षीय कुशल दाहाललाई घरमा बोलाएर लाठी, धारिलो हतियार, खुकुरी, चुप्पीलगायत प्रहार गरी गम्भीर घाइते बनाएका थिए । दाहालको सो राति बीएन्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनापछि फरार रहेका तमाङलाई मोरङकै सुन्दर हरैँचा नगरपालिका-४बाट पक्राउ गर्न सफल भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानबाट तामाङले पूर्वयोजना बनाएर दाहालको हत्या गरेको पाइएको छ ।
उनलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ४ दिन म्याद थप गरिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय उर्लाबारीबाट थप अनुसन्धान भइरहेको छ ।


