ढोरपाटन (बागलुङ): गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकीका नयाँ भवन निर्माण गरी सञ्चालनमा ल्याइएका छन् । वडा नं १ को दुदिलाभाटी र वडा नं ७ को मल्ममा निर्माण सम्पन्न भएका यी भवनहरूले स्थानीय स्वास्थ्य सेवा सुदृढ हुने विश्वास गरिएको छ ।
नगरपालिकाले स्वास्थ्य चौकीका पुराना, साँघुरा र कच्ची संरचनालाई व्यवस्थित बनाउन नयाँ भवन निर्माण गर्दै आएको हो । दुदिलाभाटी स्वास्थ्य चौकीको भवन २०८० मङ्सिरमा सम्झौता भई निर्माण सुरु गरिएको थियो । विष्णु निर्माण सेवाले करिब १ करोड ८१ लाख ५८ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको हो । उक्त भवन २०८० माघमा सम्पन्न भएको नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै, मल्म स्वास्थ्य चौकीको भवन २०८० असारमा सम्झौता भई निर्माण थालिएको थियो । जयकालिका भगवती/केसी निर्माण सेवा जेभीले करिब २ करोड ३१ लाख ३६ हजार रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । भवन २०८० पुसमा सम्पन्न गरिएको हो ।
प्रवक्ता भण्डारीका अनुसार, गलकोट नगरपालिकाले स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिँदै ठूलो लगानी गर्दै आएको छ । उहाँले भन्नुभयो, “सबै स्वास्थ्य संस्थामा पूर्वाधारको सुधारसँगै सेवा पनि गुणस्तरीय र जनविश्वासयोग्य बनाउने लक्ष्य लिएको छ ।”
दुदिलाभाटी स्वास्थ्य चौकी प्रमुख याममाया रानाले पुरानो ५० वर्षअघिको भवन साँघुरो र जीर्ण भएकाले सेवा दिन कठिन भइरहेको बताउनुभयो । “एकै कोठामा सबै सेवा दिनुपर्ने, बिरामीलाई लाइनमा राख्नुपर्नेजस्ता समस्या थिए,” उहाँले भन्नुभयो, “नयाँ भवन बनेपछि सेवा सहज हुनेछ ।”
गलकोटमा हाल एक नगर अस्पतालसहित १४ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलका अनुसार, तीमध्ये सात स्वास्थ्य चौकी, तीन सहरी स्वास्थ्य केन्द्र, र तीन आधारभूत स्वास्थ्य सेवा केन्द्र छन् । नगरपालिकाले नौ स्थानमा बर्थिङ सेन्टर स्थापना गरिसकेको छ भने पाँच स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालनमा छन् ।
प्रमुख पौडेलका अनुसार, गाउँ–गाउँमा स्वास्थ्य संस्था स्थापना भई बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित प्रसूति सेवा प्रभावकारी बनेको छ । “पहिले घरमै सुत्केरी हुनेको संख्या धेरै थियो, अहिले त्यो लगभग शून्यमा झरेको छ,” उहाँले भन्नुभयो ।
यी नयाँ संरचनासँगै नगरपालिकाले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिने आफ्नो प्रतिबद्धता थप सुदृढ पारेको छ ।