Homeअन्तरवार्तागठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो : राजनीतिक विश्लेषक कृष्ण पोखरेल

गठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो : राजनीतिक विश्लेषक कृष्ण पोखरेल

स्थानीय तहको निर्वाचनमा सत्ता पक्षका पाँच दलले विभिन्न पालिकामा आपसमा तालमेल गरेका छन् । अर्कोतिर नेकपा एमालेले पनि केही पालिकामा साना दलसँग तालमेल गरेको छ ।

गठबन्धनका बारेमा विभिन्न कोणबाट विभिन्न खालका टिप्पणी आइरहे पनि राजनीतिक विश्लेषक कृष्ण पोखरेल यसलाई नेपाली राज्यको अनिवार्य परिदृश्य मान्छन् । उनी गठबन्धनलाई स्वाभाविक रूपमा लिन्छन् । यद्यपि यसको नतिजा मिश्रित हुने उनको भनाइ छ ।

स्थानीय तह निर्वाचन, जनताको भावना, गठबन्धनको औचित्य र धरातल लगायतका विषयमा केन्द्रित रहेर रातोपाटीले विश्लेषक पोखरेलसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

यस अघिको स्थानीय तह निर्वाचन र अहिलेको निर्वाचनको चुनावी प्रचारप्रसार, चुनावी खर्च लगायतका विषयलाई कसरी समीक्षा गर्नु भएको छ ?

मैले देशैभरको चुनावी अवस्था त्यति नजिकबाट हेरेको छैन । स्थानीय निर्वाचन क्रमिक रूपमा भड्किलो, खर्चिलो र महँगो हुँदै गएको छ । उम्मेदवारहरू प्रायः पार्टीमै लागेका मान्छे छन् । त्यस्तो ठेकेदार वा अन्य कुनै पेशा, व्यवसायबाट आएका कमै देखिन्छन् । जसले पार्टी नेतृत्वको विश्वास जित्न सक्यो, उही उम्मेदवार भएका छन् ।

अर्को कुरा, यस पटकको निर्वाचनमा सामाजिक सञ्जालको प्रयोग बढी भएको देखियो । गाउँघर, टोल र चोकहरुमा तुल, ब्यानरहरु धेरै देखिन्थे । यो पटक कम देखियो । निर्वाचन आयोगले आचारसंहितामा कडाइ गरेकाले पनि हुन सक्छ, यो पटकको निर्वाचनमा त्यस्तो भद्दा खालको प्रचार हुन पाएन । पछिल्लो समय सामाजिक सञ्चालकै प्रयोग बढ्दो छ । त्यसैले मतदाता र उम्मेदवार बढी केन्द्रित भएको पाइन्छ ।

चुनावी रौनक हराए जस्तो, मतदातामा उतिसारो उत्साह देखिँदैन भन्ने उम्मेदवारको गुनासो छ । किन त्यस्तो भयो ?

यस्ता गुनासोलाई सबै ठाउँमा छन् भनेर सामान्यकरण गर्नु हुँदैन । स्थानीय तहमा जितेका उम्मेदवारले गरेको काम प्रवृत्ति अनुसार फरकफरक छन् । अघिल्लो निर्वाचनमा जित्नेहरुले गरेको काम र त्यसले गाउँघरमा पारेको प्रभाव अनुसार मतदाताको प्रतिक्रिया पनि फरकफरक हुन्छन् । सामान्यतया स्थानीय सरकार घरदैलोको सरकार पनि हो । कार्यथलोको लोकतन्त्र पनि भनिन्छ । ‘वर्क फ्रम डेमोक्रेसी’ भन्छन् । व्यक्तिलाई गाउँघरमा चाहिने राज्यले दिने सेवा सुविधा यही स्थानीय सरकारले गर्ने हो । त्यसैका लागि निर्वाचन हुँदैछ ।

तपाईंले उत्साह र कम उत्साह भन्नुभयो  । जहाँको स्थानीय सरकारले राम्रो डेलिभर गर्‍यो, त्यहाँ उत्साह छ । यस्तै कुनै उम्मेदवारमा अपेक्षा छ भने त्यहाँ उत्साह छ । जहाँ त्यो पूरा भएन, जितेपनि के परक पर्ला र भन्ने खालको मनोदशा मतदातामा भयो, त्यहाँ उत्साह कम छ ।

स्थानीय निर्वाचनका उम्मेदवारले उठाएका एजेण्डा उही पुरानै दोहोरिएका छन् या  नयाँ खालका पनि पाउनु भएको छ ?

राजनीतिक नेतृत्वले सपना देखाउनु नराम्रो होइन । पूरा हुने सपना देखाउने हो । स्थानीय सरकारले आफैले नेतृत्व गरेर देखाएको सपना पूरा हुन्छ कि हुँदैन, त्यो कुरालाई हेर्नुपर्छ ।

यसअघिका कतिपय एजेन्डा गायब भएका छन् । पोहोर पनि यही, यसपाला पनि यही भन्दा मतदाताले पत्याउँदैन् भनेर हटाइएको छ । स्थानीय सरकार भनेको २÷३ वटा कुरा छन् । एउटा सेवा प्रवाहकै कुरा हो । खास गरेर ग्रामीण भेग हो भने कृषि र पशुपालन प्राविधिकहरुको सेवा कस्तो छ भन्ने कुरा हुन्छ । यस्तै शिक्षा, स्वास्थ्य र स–साना पुलपुलेसा निर्माणका कुरा छन् । स्थानीय जनतालाई कसरी सेवा गर्छन् भन्ने कुरा ख्याल गरिन्छ ।

अहिले चुनावमा गठबन्धन बनाउँदा लोकतान्त्रिक मूल्यमान्यताको चीरहरण भयो, एकले अर्को पक्षलाई जबर्जस्त चुनावमा हराउने अस्त्र मात्रै भयो भन्ने आरोपलाई कसरी लिनु भएको छ ?

यो आ–आफ्नो दृष्टिकोणको कुरा हो । मैले बुझेको गठबन्धन स्थानीय आवश्यकता अनुसार अघिल्लो निर्वाचनमा पनि भयो । राष्ट्रव्यापी रूपमा अहिले पनि कुनै पक्षको गठबन्धन छैन । अघिल्लो चुनावमा जहाँ जो बलियो छ, त्यसका विरुद्ध गठबन्धन भयो । काठमाडौंमा एमाले बलियो भए पनि राप्रपासँग गठबन्धन भयो । ललितपुर र भरतपुरमा एमाले–राप्रपा गठबन्धन भयो । माओवादी र काँग्रेसबीच भरतपुरमा गठबन्धन भयो । अघिल्लो चुनावमा रोल्पा, रुकुममा माओवादीविरुद्ध गठबन्धन भए । लमजुङ, तनहुँमा काँग्रेस विरुद्ध एमाले–माओवादीले गठबन्धन गरे । गठबन्धन हुँदै हुँदैन भन्ने कुरा र गठबन्धन नभए राजनीति नै चल्दैन भन्ने दुवै ‘एक्सट्रिम’ कुरा हुन् ।

अर्को कुरा, जसले गठबन्धनको विरोध गरेको छ । उसैले पनि राप्रपा, सीके राउत, विप्लव समूहसँग गठबन्धन गरेको छ । उसले नपाएर पो गठबन्धनको विरोध गरेको हो । यदि पाएको भए मज्जाले गठबन्धन गर्ने थियो ।

तपाईंले एमालेले पनि घोषित रूपमा गठबन्धन बनाएको छ भन्न खोज्नु भएको हो ?

एमालेले धेरै पार्टीसँग गठबन्धन गरेको छ । एमालेले बकाइदा सम्झौता गरेर राप्रपासँग तालमेल गरेको छ । यस्तै सीके राउत, लोसपा, विप्लव समूह, तनहुँमा गोविन्दराज जोशी समूह लगायतसँग तालमेल गरेको छ ।

अहिले गठबन्धन पनि अनौठो खालको छ । झापाको केचनाकेवलमा राप्रपा विरुद्ध एमालेसहित सत्ता गठबन्धन छ । दमकमा एमालेविरुद्ध काँग्रेस, माओवादी, राप्रपा गठबन्धन छ । भरतपुरमा राप्रपासँग एमालेले तालमेल गरेको छ ।

सत्ता गठबन्धन फुट्यो वा टुट्यो भने मुलुक नै धरापमा जान्छ भन्नेगरी कुराहरु आइराखेका छन् । यस्तो भन्नु सत्तामा जाने भर्‍याङ हो वा अन्य त्यस्तै कुरा पनि छन् ?

अहिले जुन सत्तारुढ गठबन्धन छ, त्यो गठबन्धन र प्रतिपक्षलाई हेर्नुस् । अहिले संसदको ठूलो पार्टी एमाले हो । एमालेलाई अध्यक्षले चलाउन नजानेर यस्तो अवस्था आयो । राष्ट्रिय राजनीतिमा जे अवस्था आयो, त्यो भुइँको टिप्न खोज्दा पोल्टाको झरेको हो । सुविधाजनक बहुमत केपी ओलीलाई थियो तर, त्यो बहुमत नपुगेर के खोज्न संसद भङ्ग गर्न गएको हो ? आफ्नै पार्टीभित्र आधाआधा प्रधानमन्त्री बाँड्ने भन्या थियो । पछि त्यो अवधि पूरा चलाऊ भनेकै थिए । त्यो समेत नमानेर संसद विघटन गरे । त्यो पनि एक पटक होइन दुई–दुई पटक गरे ।

संविधानको आधारभूत मान्यता विपरीत गएकाले एमालेका विरुद्ध गठबन्धन बन्यो । संविधानलाई आफ्नो स्वार्थ अनुसार ब्याख्या गरेर पटकपटक संसद विघटन गरियो । त्योमात्रै, होइन संवैधानिक निकायहरुलाई कब्जा गरेर पङ्गु बनाइयो । न्यायालयको ढोका ढकढक्याएर गठबन्धन बनाएर गएको हो । संविधानको रक्षा  भन्ने बित्तिकै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेका मुलभूत मान्यताको रक्षा हो । यो गठबन्धन टुट्यो भने अहिलेको संविधानले जस्तो खालको परिपाटीको कल्पना गरेको छ, संघीय संसददेखि प्रदेशसम्म एक्लै बहुमत ल्याउँदैन । गठबन्धन नेपाली राज्यको अनिवार्य परिदृश्य हो ।

हिजो पनि एमालेले माओवादीसँगै गठबन्धन गरेर बहुमत ल्याएको हो । त्यो बेला पार्टी एउटै बनिसकेको थिएन । त्यसलाई केपीजीले थाम्न नसकेको हो । तर, गठबन्धन नहुँदा कुनै पार्टीको पनि बहुमत आउँदैन ।

अहिलेको स्थानीय तह निर्वाचमा गठबन्धन अपरिहार्य भन्ने मान्दिनँ तर, यो गठबन्धन भएन भने गठबन्धनभित्रकै काटमारले एमाले लाभान्वित हुने अवस्था भयो । त्यसो भएमा गठबन्धनमा गलत सन्देश जाने भयो । केन्द्रमा गठबन्धन गर्ने तर स्थानीय तहमा आपसमा लडेर प्रतिपक्षलाई फाइदा पुर्‍याउने भयो । त्यो भएपछि सेलेक्टेड स्थानीय तहमा मात्रै तालमेल भयो ।

गठबन्धनबाट कस्तो परिणाम आउने देख्नुहुन्छ ?

परिणाम निश्चित रूपमा राम्रो आउँछ तर, पूर्ण रूपमा सफल भने हुँदैन । हरेक पार्टीका कार्यकर्ताको अपेक्षा हुन्छन् । तोकिएकै पार्टी वा गठबन्धनमा मत जान्छ भन्ने हुँदैन । गठबन्धनको नतिजा मिश्रित हुन्छ जस्तो लाग्छ । पूर्णतया सफल पनि हुँदैन, पूर्णतया असफल पनि हुँदैन ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका