Friday, June 19, 2026
Homeखेलकुदक्रिकेटर पूजा महतोको शोभायात्राः बाबुले भने- पूजा देशकी छोरी भइन्

क्रिकेटर पूजा महतोको शोभायात्राः बाबुले भने- पूजा देशकी छोरी भइन्

महोत्तरी: यु–१९ नेपाली महिला क्रिकेट टिमकी कप्तान पूजा महतोको सोमबार पैत्रिक नगरमा भव्य शोभायात्रा निकालिएको छ। हालै यु–१९ टी–२० एसिया कप छनोट प्रतियोगिता जितेर विश्वकपमा छनोट भएको नेपाली टोलीको नेतृत्व गरेकी पूजाको सम्मानमा गौशाला नगरपालिका र स्थानीयवासीले शोभायात्रा आयोजना गरेका हुन्।

गौशाला–९ की कप्तान पूजालाई उनका पिता रञ्जित महतो, बाजेबज्यै र परिवारका अन्य सदस्यहरूसँग सजाइएको सवारीमा राखेर नगर परिक्रमा गराइएको थियो। सो अवसरमा प्रतिनिधिसभाका सांसद लक्ष्मी महतो, नगरप्रमुख डा. दीपेन्द्र महतो, स्थानीय जनप्रतिनिधि तथा नगरवासीको सहभागिता थियो।

प्रतिनिधिसभाका सांसद महतोले पूजाले आफ्नो ठाउँ, सिङ्गो मधेस मात्र नभई देशको गौरव बढाएकाले यस्तो सम्मान गरिएको बताउनुभयो। शोभायात्रा नगरपालिकाका १२ वटै वडाबस्ती घुमाएर गौशाला–११ इमलीबजारमा समापन गरिएको थियो।

शुक्रबार घर फर्किएकी पूजालाई बधाई दिन र हौसला प्रदान गर्न सयौँ नगरवासी पूजाको घरमा भेला हुने गरेका छन्। कुशवाहा कल्याण समाज महोत्तरीले उनलाई रु ५१ हजार नगदसहित कदरपत्र प्रदान गरी सम्मान गरिसकेको छ।

यसैगरी, विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था, र समुदायका प्रतिनिधिले पूजालाई विश्वकप खेल्न उच्च मनोबल प्रदान गर्ने क्रम जारी छ। सोमबार साँझ पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले पूजालाई सफलताका लागि बधाई दिनुभएको छ।

पूजाले प्राप्त हौसला र चासोले आगामी खेलमा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिलेको बताउनुभयो। “युएईमा छनोट खेलका दौरान सम्पूर्ण नेपाली हाम्रो खेल हेर्दै हुनुहुन्छ भन्ने विश्वास थियो,” उहाँले भन्नुभयो, “यही विश्वासले हामीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्‍यो। अब हाम्रो लक्ष्य विश्वकपको उपाधि हो।”

गत बिहीबार टिमसहित स्वदेश फर्किएकी पूजाको घर नपुग्दै मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्ना प्रतिनिधिमार्फत परिवारजनलाई खुसीका शुभकामना दिनुभएको थियो। सो दिन पूजाको गाउँ डुमरवानामा साँझ दीपावली गरी खुसी मनाइएको थियो।

युएईमा सम्पन्न छनोट प्रतियोगितामा नेपाली महिला टिमले कुवेत र युएईसँगको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप प्रवेश सुनिश्चित गरेको थियो।

पूजाका पिता रञ्जित महतोले आफ्नी छोरीले देशका लागि केही गरिरहेको देखेर गर्व महसुस भएको बताउँदै भने, “पूजा अब देशकी छोरी हुन्। उहाँलाई सबैको आशीर्वाद र माया सधैँ आवश्यक पर्दछ। उहाँले देशको नाम विश्वभर फैलाउनेछिन्।”

रञ्जितका चार सन्तानमध्ये माहिली छोरी पूजाको सफलताले कान्छी आरती र कान्छा छोरा कृष्णलाई खेलप्रति थप प्रेरित र आशावादी बनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका