Tuesday, April 21, 2026
Homeअपराध र घटनाकृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै

कृष्णबहादुर महरालाई अदालत उपस्थित गराइँदै

काठमाडौँ – पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउँदै छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार उनलाई ललितपुरको खुमलटारस्थित निवासबाट पक्राउ गरेको हो।

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याइएको सुन प्रकरणमा अनुसन्धानका लागि महरालाई नियन्त्रणमा लिइएको हो। उहाँले भन्नुभयो, “हामी कानुन बमोजिम अनुसन्धान अघि बढाउँदै छौँ।”

महरालाई सोमबार सरकारी वकिलमार्फत म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइने तयारी भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीले यसअघि पनि महरालाई २०८० चैत ५ गते पक्राउ गरेको थियो। सो समयमा बयान प्रक्रिया सकेर उनी हाजिर जमानीमा रिहा भएका थिए। सुशीला कार्कीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद् गठन र सीआईबीको नेतृत्व परिवर्तनपछि उनी १८ महिनापछि पुनः पक्राउ परेका हुन्।

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले महरालाई सुन तस्करी प्रकरणमा दोषी ठहर गरी पुनः मुद्दा दर्ता गर्न सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनको आधारमा सीआईबीले थप अनुसन्धान गरी ‘पुरक प्रतिवेदन’ जिल्ला सरकारी वकिल कार्यालयमा पेस गर्ने तयारी गरेको छ।

भेपमा सुन ल्याउने गिरोहका प्रमुख चिनियाँ नागरिक दाओजिन वाङसँग महराको सम्बन्ध रहेको देखिएपछि आयोगले उनलाई संगठित तस्करीको अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको हो।

यसअघि दिएको बयानमा महराले चिनियाँ नागरिक वाङसँग चिनजान रहेको स्वीकार गरेका थिए। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार उनले भनेका थिए, “दाओजिन वाङसँग चिनजान हो, तर कारोबार गरेको छैन।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको ७३० वटा भेप जफत गरेपछि महरा र उनका पुत्र राहुलले उक्त सामान छुटाउन भूमिका खेलेको खुलासा भएको छ। यसअघि राहुल महरा पनि सोही प्रकरणमा पक्राउ परेका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका