काभ्रेपलाञ्चोक: जिल्लाको सबैभन्दा पुरानो शिर मेमोरियल एडभेन्टिस्ट अस्पतालमा सिटी स्क्यान सेवा सुरु गरिएको छ। अस्पताल स्थापना भएको ६५ वर्षपछि पहिलोपटक १२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा प्रारम्भ गरिएको हो।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसका अनुसार उक्त मेसिन र जेनेरेटर खरिद तथा जडानमा कुल ७ करोड ५० लाख रुपैयाँ (चार लाख ६० हजार अमेरिकी डलर) खर्च भएको छ। यो मेसिन रोटरी फाउन्डेसन, रोटरी क्लब अफ कुपन्डोल, रोटरी क्लब अफ काभ्रेपलाञ्चोक तथा ग्लोबल ग्रान्ट फन्डमार्फत विभिन्न दातृ संस्था, क्लब तथा व्यक्तिहरूको सहयोगमा खरिद गरिएको हो।
यसअघि पनि रोटरी क्लबको पहलमा अस्पतालमा डायलाइसिस सेवा सञ्चालनका लागि आवश्यक उपकरण उपलब्ध गराइएको थियो। १५० शय्याको यो अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनका लागि चिकित्सक तथा कर्मचारीले एक महिनाको तलबसमेत योगदान गरेका छन्।
डा. गायरसले सिटी स्क्यान मेसिन अस्पतालका लागि अत्यावश्यक पूर्वाधार भएको उल्लेख गर्दै अब सेवा आर्थिक अवस्था कमजोर बिरामीले पनि सहज रूपमा पाउने बताएका छन्। बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले आज उक्त सेवा औपचारिक रूपमा शुभारम्भ गर्नुभएको हो।