Monday, January 20, 2025
Homeराजनीतिकांग्रेस नेता नविन्द्रराज जोशीको निधनले राजनीतिमा अपूरणीय क्षति

कांग्रेस नेता नविन्द्रराज जोशीको निधनले राजनीतिमा अपूरणीय क्षति

काठमाडौं । नेपाली लोकतान्त्रिक आन्दोलनका हिमायती नविन्द्रराज जोशी हामी माझ रहेनन् । मष्तिष्काघात भई थापाथलीमा रहेको नर्भिक अस्पतालमा जोशीको निधन भएको छ ।

नेपाली कांग्रेसका नेता जोशी सांसद र मन्त्रीसम्म भए । निकै मृदुभाषी जोशी सालिन नेताका रुपमा पनि चिनिन्छन् । सर्वमान्य नेता गणेशमान सिंहको छत्रछायाँमा हुर्किएका जोशी कम उमेरमै महत्वपूर्ण जिम्मेवारी सम्हाल्न सक्षम रहे ।

विक्रम संवत् २०१८ साल असार ३ गते काठमाडौंमा बुवा गजेन्द्रराज जोशी र आमा गीता जोशीबाट जन्मिएका नविन्द्र सानै उमेरमा राजनीतिमा होमिए । २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रियतापूर्वक भाग लिएका उनले त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको सचिव र नेविसंघ काठमाडौंको अध्यक्ष भएर काम गरे ।

२८ वर्षको उमेरमा जोशीले २०४४ देखि २०४८ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । २०४८ सालको बुटवल महाधिवेशनमा नेविसंघ अध्यक्षको प्रत्यासी बनेका जोशी कांग्रेस नेता एनपी साउदसँग पराजित भएपछि काठमाडौंको स्थानीय राजनीतिमा सक्रिए बने ।

प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो स्थानीय चुनावमा २०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर निर्वाचित भएका जोशीले मेयरमा निर्वाचित भएका पीएल सिंहसँग पाँच वर्ष स्थानीय जनप्रतिनिधि भएर २०५४ सालसम्म काम गरे ।

जोशी २०६७ सालदेखि नेपाली कांग्रेसको केन्द्रीय सदस्यको भूमिकामा आएका थिए । कांग्रेसमा युवाको मतलाई चर्चामा ल्याएका उनी आफू पनि चर्चित बने । त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका जोशी संविधानसभाको २०६४ र २०७० मा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–८ बाट निर्वाचित भएका थिए ।

२०७० सालको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उद्योगमन्त्री बनेका जोशीले नेपाल औषधि कम्पनी पुनःस्थापित गरेर चर्चा कमाएका थिए । जोशीले बन्द अवस्थामा रहेका उद्योग सञ्चालन गर्ने नीति मात्र ल्याएनन्, नेपाल औषधि लिमिटेडको सञ्चालन नै गरेपछि उनको चर्चा चुलिएको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि लगानी सम्मेलनको संयोजक भएर काम गरेका जोशीले १४ खर्ब रुपैयाँ बढीको लगानी प्रतिबद्धता ल्याएपछि जोशीको कम बोल्ने र काम गरेर देखाउने नेताको पहिचान बनेको थियो ।

आत्मविश्वासी जोशी २०७४ को निर्वाचनमा भने नेकपा एमाले र माओवादी केन्द्रको एकता र कम्युनिस्ट पार्टीको लहरका कारण ३ सय ५४ मतको झिनो अन्तरबाट एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए ।

न्युज२४नेपाल बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका