काठमाडौं । एनपी साउद ले नेपाली कांग्रेसभित्र मेलमिलाप र एकता सुदृढ गर्न विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूसँग तत्काल समन्वय बढाउन सभापति गगन थापा लाई आग्रह गरेका छन्।
नेपाली कांग्रेस को सुदूरपश्चिम कार्यसमितिद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता साउदले पार्टीभित्र सहमति र एकतालाई प्राथमिकता दिनुपर्ने बताएका हुन्।
उनले सर्वसम्मतिबाट टुङ्गिएको क्रियाशील सदस्यतासम्बन्धी विषयलाई थप विवादको विषय नबनाउन आग्रह गर्दै कसैले पार्टी अनुशासन उल्लंघन गरेको भए विधानअनुसार कारबाही गर्न सुझाव दिए।
साउदले निर्वाचन समिति र अनुशासन समिति गठन गर्दा सबै पक्षलाई स्वीकार्य हुने गरी समावेशी ढंगले गठन गर्नुपर्नेमा जोड दिए। उनका अनुसार विशेष अधिवेशनमा सहभागी पक्ष र असहमत पक्षबीच बलियो एकता कायम भएपछि मात्रै पार्टीको आगामी १५औँ महाधिवेशन प्रभावकारी रूपमा सम्पन्न हुन सक्छ।
उनले पार्टीभित्रको आन्तरिक समझदारी र सहकार्यलाई मजबुत बनाउँदै कांग्रेसलाई अझ सशक्त र एकताबद्ध बनाउन नेतृत्वले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे।