Saturday, November 8, 2025
Homeराजनीतिकांग्रेसका मन्त्रीहरूलाई देउवाको निर्देशन- "दुई दिन जनताका कुरा सुन्नु, पाँच दिन काम...

कांग्रेसका मन्त्रीहरूलाई देउवाको निर्देशन- “दुई दिन जनताका कुरा सुन्नु, पाँच दिन काम गर्नू”

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज बूढानीलकण्ठस्थित आफ्नो निवासमा मन्त्रीहरूलाई नतिजामुखी काम गर्न निर्देशन दिएका छन्।

सभापति देउवाले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई दुई दिन जनताका कुरा सुनेर बाँकी पाँच दिन ती समस्याको सम्बोधन गर्न निर्देशन दिएका हुन्। “सभापतिज्यूले मन्त्रालयका कामलाई प्राथमिकता दिँदै, जनतासँग नियमित रूपमा संवाद गर्न भनेका छन्,” कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियाले जानकारी दिए।

चौरासियाले आफूले कानुन मन्त्रालयका बाँकी विधेयकलाई छिटो संसदीय प्रक्रियामा लैजाने र रोकिएका विधेयकलाई अघि बढाउन प्राथमिकता दिने बताए।

बैठकमा मन्त्रीहरूले आफ्नो मन्त्रालयका प्रगतिबारे जानकारी दिँदै प्राविधिक अप्ठ्यारा फुकाउन पार्टी नेतृत्वले गर्नुपर्ने सहयोगका विषय पनि राखेका थिए। “सत्तारुढ गठबन्धनमा काम गर्दा राजनीतिक अप्ठेरोको चर्चा भएन। पार्टी नेतृत्वले मन्त्रालयको प्रभावकारिता सुनिश्चित गर्न निर्देशन दिएको छ,” चौरासियाले भने।

सभापति देउवाले सातामा दुई दिन पार्टी कार्यालयमा पुगेर नेता-कार्यकर्ताका कुरा सुन्न निर्देशन दिएका छन्। प्रमुख सचेतक श्याम घिमिरेका अनुसार, मन्त्रीहरूले पार्टीका गुनासा तथा मागलाई सम्बोधन गर्न मासिक रूपमा छलफल पनि गर्नेछन्।

सभापति देउवाले कांग्रेस–एमाले गठबन्धनको सहमति अनुसार काम गर्न र सुशासन तथा आर्थिक समृद्धिमा केन्द्रित हुन आग्रह गरे। बैठकले सांसद दिलेन्द्र बडुको संयोजकत्वमा संसदीय दल अनुशासन समिति गठन गर्ने निर्णय गर्‍यो।

साथै, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको निन्दा गर्दै न्यायालयको सम्मान र स्वतन्त्रताका पक्षमा पार्टीको प्रतिबद्धता दोहोर्‍याएको जानकारी घिमिरेले दिए।

बैठकमा १० मन्त्री, दुई राज्यमन्त्री, पार्टी पदाधिकारी र संसदीय दलका पदाधिकारीको उपस्थिति थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका