Wednesday, March 19, 2025
Homeराजनीतिकांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा प्रशिक्षण दिइने

कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा प्रशिक्षण दिइने

भैरहवा (रुपन्देही): नेपाली कांग्रेसले देशभरका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूलाई भैरहवामा दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम प्रदान गर्ने भएको छ। सोमबार र मङ्गलबार सञ्चालन हुने उक्त कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने यस कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गतका १३० क्षेत्रीय सभापति, सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरू तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाका ७० क्षेत्रीय सभापतिहरूको सहभागिता रहने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति पूर्णबहादुर खडकाले जानकारी दिनुभयो।

आज भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक खड्काले कार्यक्रमबारे जानकारी दिँदै पार्टीका मुख्य गतिविधि, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा रहँदा भएका नीतिगत सुधार, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, पार्टीको क्रियाशील सदस्यता अभियान तथा पार्टी सङ्गठनका विविध पक्षहरूमा प्रस्तुति रहने बताउनुभयो।

कार्यक्रममा समसामयिक विषयहरू समेट्दै छवटा प्रमुख विषयमा प्रस्तुतीकरण र छलफल गरिनेछ। दोस्रो दिन सात समूहमा विभाजन गरी सहभागीहरूले आफ्ना क्षेत्रका अनुभव, पार्टी सञ्चालनका चुनौतीहरू तथा सुधारका सम्भावनाहरूमा गहन छलफल गर्नेछन्। साथै, सरकारसँग सम्बन्धित विषयहरूमा विशेष सत्र राखी सुझाव सङ्कलन गरिनेछ, जसका लागि सरकारमा सहभागी दुई मन्त्रीले जानकारी दिने कार्यक्रम तय गरिएको छ।

यो कार्यक्रम नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं. ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका