९ वैशाख, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् । नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनी समेत दिए ।
मदननगर बल्खुमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’
माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे । ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’
‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोजिन्छ भने त्यो अब सम्भव छैन’, उनले भने ।
ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै छलफल गर्दै आएका छन् । बुधबार साँझ मात्रै ओलीले नेता माधव नेपालसँग छलफल गरेका थिए ।
अनलाईनखर बाट साभार