काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बोआओ फोरम अन्तर्गतको एसिया स्वास्थ्य फोरम २०२५ मा नेपाललाई प्रतिनिधित्व गर्दै महत्वपूर्ण सम्बोधन गरेका छन्। ‘नवप्रवर्तनद्वारा सञ्चालित स्वास्थ्य उद्योगको नयाँ भविष्य’ विषयमा बोल्दै उनले नेपाल डिजिटल स्वास्थ्यमा रूपान्तरण गर्ने रणनीति अन्तर्गत सक्रिय रूपमा अघि बढिरहेको जानकारी दिए।
उनका अनुसार डिजिटल प्रविधिको प्रयोगले नागरिकको स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै सेवा गुणस्तरमा सुधार ल्याउन मद्दत भइरहेको छ। उनले एसियाली मुलुकहरूसँग सहकार्य गर्दै आधुनिक प्रविधि मार्फत निदान, स्वास्थ्य प्रणालीको व्यवस्थापन, लागत नियन्त्रण र जोखिम नक्साङ्कनमा सुधार ल्याउने दिशामा नेपाल अग्रसर रहेको उल्लेख गरे।
मन्त्री पौडेलले फोरम अन्तर्गत जलवायु परिवर्तनले स्वास्थ्यमा पारेको प्रभावसम्बन्धी सत्रमा समेत सहभागिता जनाउँदै नेपालमा जलवायु उत्पन्न स्वास्थ्य संकटलाई उजागर गर्न ‘जलवायु परिवर्तन र स्वास्थ्य’ विषयमा सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए।
उनले नेपालले यस विषयलाई साझा एजेन्डाका रूपमा अघि बढाउन प्रयत्न गरिरहेको बताउँदै जलवायु संकटका कारण प्रभावित नागरिकको सुरक्षाका लागि तयारीमा जोड दिएको बताए।
चीन भ्रमणको क्रममा मन्त्री पौडेलले त्यहाँको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासन (एनडीसीपीए) का निर्देशक शेन होङबिनसँग भेटवार्ता गर्दै स्वास्थ्य सहकार्यका क्षेत्रमा नेपाली अपेक्षाबारे छलफल गरे। नेपाली राजदूत डा. कृष्णप्रसाद ओली समेत सहभागी उक्त भेटमा हेटौँडास्थित भेक्टरजन्य रोग अनुसन्धान केन्द्रमा चिनियाँ सहयोग, सरकारी अस्पतालहरूमा न्युरो उपचार केन्द्र स्थापनालगायतका विषयमा पनि छलफल भएको चीनस्थित नेपाली राजदूतावासले जनाएको छ।
मन्त्री पौडेलले बेइजिङमा बसोबास गर्ने नेपाली समुदायसँग भेट गर्दै चीनमा हासिल ज्ञान र सीप नेपालमा प्रयोग गरेर राष्ट्रको विकासमा योगदान दिन आग्रह गरे।


