काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)–२ को उद्घाटन खेलमा काठमान्डु गोर्खाज विजयी भएको छ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमान्डुले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै सिजनको शानदार सुरुवात गरेको हो।
जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरमै पाँच विकेटको क्षतिमै पूरा गर्यो।
काठमान्डुका ओपनर बेन चार्ल्सवर्थले ४६ रन र अर्का ओपनर आकाश त्रिपाठीले ३९ रन योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रनको चुनौती दिएको थियो।
जनकपुरका ओपनर आशिफ शेखले ५४ रनको अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ६ चौका र एक छक्का प्रहार गरेका थिए।
त्यसैगरी मयन यादवले ३४ रन र लाहिरु समराकुनले २२ रन जोडे।
काठमान्डुका मिलिन्द कुमारले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएका थिए।


