Saturday, June 20, 2026
Homeखेलकुदएनपिएलः विराटनगर किङ्ग्सले निकाल्यो पहिलो जित

एनपिएलः विराटनगर किङ्ग्सले निकाल्यो पहिलो जित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को सातौँ खेलमा विराटनगर किंग्सले उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी लायन्सलाई पराजित गरेको छ। लुम्बिनीले जितका लागि प्रस्तुत गरेको १९२ रनको चुनौती विराटनगरले रोमाञ्चक शैलीमा १९.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो।

विराटनगरको जितमा ओपनर लोकेश बमले महत्वपूर्ण भूमिका खेले। उनले ४७ बलमा ३ चौका र ६ छक्काको मद्दतमा ७१ रन बनाए। अन्य ब्याटरहरूमध्ये मार्टिन गप्टिलले २८ रन, बसिर अहमदले २३ बलमा ४० रन, र क्रिस सोलले अन्तिम क्षणमा ४ बलमा १४ रन प्रहार गरी टोलीलाई जितसम्म पुर्‍याए। बलिङतर्फ लुम्बिनीका दुर्गेश गुप्ताले ३ विकेट लिए भने साद बिन जाफर र रामोन सिमन्ड्सले समान २/२ विकेट हात पारे।

लुम्बिनीको प्रदर्शन

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९१ रन बनाएको थियो। कप्तान रोहितकुमार पौडेलले आक्रामक शैलीमा ४६ रन जोडे। उनले २९ बलमा २ छक्का र ४ चौका प्रहार गरे। टम मूर्सले ३० रन, विवेक यादवले १९, र अर्जुन साउदले १७ रनको योगदान दिए।

अन्य ब्याटरहरूमध्ये आशुतोष घिरैया र साद बिन जाफरले समान १५/१५ रन बनाए। सन्दीप जोराले १२ रन थपे भने बेन कटिङ र रामोन सिमन्ड्स क्रमशः ६ र २ रनमै सीमित भए। बलिङतर्फ विराटनगरका सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान १/१ विकेट लिए।

विराटनगरको पहिलो जित

यो जितसँगै विराटनगर किंग्सले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। यसअघि लगातार दुई खेलमा हार व्यहोरेको विराटनगरले यो जितसँगै आत्मविश्वास बढाएको छ। यता, लुम्बिनी लायन्सले प्रतियोगितामा हारबाट सुरुवात गरेको छ।

प्रतियोगिता अझ रोमाञ्चक

एनपिएलको यस संस्करणमा टोलीहरूले आक्रामक खेल देखाउँदै गर्दा प्रतियोगिता थप रोमाञ्चक बन्दै गएको छ। विराटनगर किंग्सको यो जितले लिग तालिकामा सन्तुलन ल्याएको छ भने लुम्बिनी लायन्स आगामी खेलहरूमा जित निकाल्न दबाबमा हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका