काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी चिकित्सकहरूलाई बिरामीका रिपोर्टमा आफ्ना सम्पूर्ण विवरण उल्लेख गर्न निर्देशन दिएको छ।
मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले आज सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूलाई पत्राचार गर्दै उक्त निर्देशन दिएको हो। अबदेखि अस्पतालमा उपचारका लागि आउने बिरामीको रिपोर्टमा सिफारिस गर्ने चिकित्सक वा स्वास्थ्यकर्मीको पूरा नाम, विशेषज्ञता, नेपाल मेडिकल काउन्सिलको दर्ता नम्बर, सही र छाप अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यो व्यवस्थाले बिरामीको उपचार र पुनः परीक्षण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ। साथै, अनावश्यक परीक्षण रोक्न र परीक्षण गर्न सकिने अवस्था हुँदाहुँदै बिरामीलाई अन्यत्र रिफर गर्ने अभ्यासलाई निरुत्साहित गर्ने उद्देश्य राखिएको छ।
“हालसम्म चिकित्सकीय विवरण अपूर्ण हुँदा बिरामीको उपचारमा जटिलता आउने, तथा उपचार क्रममा भएका त्रुटिहरू पहिचान गर्न कठिन हुने समस्या देखिएको छ। अब चिकित्सकीय विवरण अनिवार्य गराउँदा चिकित्सकहरू थप जिम्मेवार र जवाफदेही हुने विश्वास लिइएको छ,” प्रवक्ता बुढाथोकीले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा सेवा प्रभावकारी बनाउन उपचार सेवाको सुधारमा जोड दिँदै आउनुभएको छ। मन्त्रीको निजी सचिवालयका अनुसार, मन्त्रालयको तर्फबाट जारी गरिएको यो निर्देशनले त्यही सुधार प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउनेछ।